अब विदेशी एअरलाइन्सले नेपाली वायुसेवासरह भाडा मात्र लिन पाउने
सरकारले आजदेखि नियमित उडान शुरू गरेका विदेशी वायुसेवाहरूलाई नेपाली वायुसेवा सरह मात्रै हवाइ भाडा लिन निर्देशन दिएको छ। अबदेखि विदेशी एअरलाइन्सले पनि नेपाली वायुसेवाहरू हिमालय र नेपाल वायुसेवा निगम सरह मात्रै हवाइ भाडा लिन पाउनेछन्।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको मन्त्री योगेश भट्टराइसहितको बैठकले नेपाली वायुसेवाले भन्दा बढी भाडा अब कुनै पनि विदेशी वायुसेवाले लिन नपाउने निर्णय गरेको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार १७ भदौबाट शुरू भएको नियमित उडानमा नेपाली वायुसेवाले उडान गर्ने क्षेत्रमा विदेशी एअरलाइन्सले बढी भाडा लिन नपाउने उल्लेख छ।
अन्तर्राष्ट्रिय उडानका वायुसेवाले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले नेपाली वायुसेवा सरह मात्रै लिन सम्बन्धित विदेशी वायुसेवालाई निर्देशन जारी गरेको हो। स्वदेशी वायुसेवाको उडान गन्तव्यमा विदेशी वायुसेवालाई बढी भाडा अशुल गर्न नदिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत यस्तो निर्देशन दिएको हो। प्राधिकरण हवाइ क्षेत्रको नियामक निकाय भएकोले प्राधिकरणबाट स्वीकृत भाडादर तय गरेर सबै वायुसेवाले उडान गर्नुपर्छ।
बजेट एअरलाइन्सको हकमा पनि नेपाली वायुसेवाले लिने भाडादर भन्दा कम हुने गरी उडान संचालन गर्न सरकारले निर्देशन दिएको छ । चार्टर्ड उडानको भाडादरको हकमा पनि यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी लिन नपाउने व्यवस्था गरिएको छ।
पर्यटन मन्त्रालयले हवाइ भाडादर सम्बन्धमा कालोबजारी, अपारदर्शि र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडादर अशुल नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरूलाई निर्देशन दिने, सरकारले गरेको निर्देशन कार्यान्वयन, सहजिकरण र अनुगमन गर्न विदेशस्थित नेपाली कुटनीतिक नियोगहरू तथा गैर आवासीय नेपाली संघलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
मन्त्रालयले यसअघि ९ भदौमा एयर अरेबियाबाट भएको उद्धार उडानमा पीसीआर परीक्षण भएका १४२ जनाबाट लिएको होटल क्वारेन्टिन वापतको रकम पनि यात्रुलाई फिर्ता गर्नुपर्ने निर्णय गरेको छ। साथै अब यस्तो गल्ती नदोहोर्याउने गरी एयर अरेबियालाई मन्त्रालयले सचेत गराउने निर्णय पनि गरेको पर्यटन मन्त्रालयका प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाली वायुसेवा सरह भाडा लिन पाउने निर्णय सकारात्मक भएपनि यी वायुसेवाले पनि मिलेमतोमा यात्रुबाट बढी भाडा लिनसक्ने भएकोले भाडादर तय गर्दा वैज्ञानिक भाडादर तय गर्नुपर्ने एरोलिना ट्राभलका प्रवन्ध निर्देशक यमबहादुर खड्का बताउँछन्। "लागत कति हुन्छ भनेर त्यो अनुसार सरकारले भाडादर तय गर्नुपर्छ", उनले भने।
नेपाली वायुसेवा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले पनि इकोनोमिक क्लासको टिकट बिक्री गर्दा सोही क्लासमा तय हुने गरेको अधिकतम भाडादरमा मात्रै टिकट बिक्री गरिरहेका छन्। यसले गर्दा सामान्य अवस्थाको तुलनामा अहिलेको भाडादर बढी हुन आएको खड्का बताउँछन्।
उनका अनुसार सामान्य अवस्थामा रु.२० हजारमा आउने भाडा अहिले रु. ८० हजार पुगेको छ। एकतर्फी यात्रु हुने, सञ्चालन खर्च बढ्ने वा अन्य समस्या हो भने पनि सोही अनुसारको भाडादर तय गरेर व्यवहारिक बनाउनुपर्ने सुझाव खड्काको छ।
नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्चुत गुरागाईका अनुसार चार्टर्ड उडान गर्दा लिने भाडादर नेपाली वायुसेवा सरह हुनुपर्छ र सोही अनुसार नियमित उडानको पनि भाडा कायम हुनुपर्ने माग गरिएको छ। नेपाली श्रमिकलाई बढी भाडा लिन हुँदैन भनेर नेपाली वायुसेवा सरह लिँदा धेरै नै सस्तो पर्ने बुझाइ उनको छ।
"नियमित उडानमा चार्टर्ड भन्दा सस्तो भाडादर हुनुपर्ने माग हाम्रो पनि हो, नियमित उडानमा पनि चार्टर्ड भन्दा बढी भाडादर हुन हुँदैन र सस्तो भाडादरमा प्रतिस्पर्धा हुनुपर्छ", उनले भने।