निषेधाज्ञा थपिए पनि अब उपत्यकामा खुल्नेछन् यी क्षेत्र
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै लागू गरिएको निषेधाज्ञाको समय दोस्रो पटक पुन: थप भएको छ। दिन प्रतिदिन संक्रमितको संख्या बढेपछि यसअघि आजसम्मका लागि पहिलो पटक थप गरेको निषेधाज्ञाको समय आज दोस्रोपटक थप गरिएको हो।
स्थानीय तह र सुरक्षा निकायहरुको सुझाव बमोजिम गृह मन्त्रालयसँगको परामर्शमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले २४ भदौ मध्यरातसम्मका लागि थप गरेको निषेधाज्ञालाई पहिलेभन्दा भने केही खुकुलो पारेका छन्।
निषेधाज्ञा जारी गरेपनि अत्यावश्यक वस्तु वा सेवामध्ये औषधी, पानी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल/व्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा सञ्चालन गर्न सकिने छ।
त्यसैगरी अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/ मासु बिक्री वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न सकिने छ।
त्यसैगरी उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल/व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्न सकिनेछ। तर त्यसरी खोलिएका पसल, व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नु पर्नेछ।
सरकारले यसअघि एकपटक बन्द गरेर पुन: शुरु गर्न दिएको अनलाइन व्यापारलाई पनि केही खुकुलो बनाएको छ। पीसीआर नेगेटिभ भएका व्यक्तिहरूबाट मापदण्ड बमोजिम टेक-अवे सेवा सञ्चालन गर्न र सरकारले तोकेको मापदण्ड अनिवार्य रुपमा पालना गरी अलनाइन सेवा सञ्चालन गर्न पाइने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूद्वारा जारी आदेशमा उल्लेख छ।
साथै अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयहरूद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।
भक्तपुर जिल्ला प्रशासनले निषेधाज्ञा थपका लागि गरेको आदेश
ललितपुर जिल्ला प्रशासनले निषेधाज्ञा थपका लागि गरेको आदेश
काठमाडौं जिल्ला प्रशासनले निषेधाज्ञा थपका लागि गरेको आदेश