अर्थतन्त्र शिथिल, शेयर बजारमा रौनक
कोरोना भाइरसले निम्त्याएको अप्ठ्यारोका कारण अर्थतन्त्र गम्भीर रुपमा शिथिल भएपनि शेयर बजारमा भने आश्चर्यलाग्दो रौनक देखिएको छ।
निषेधाज्ञाका बावजूद बुधबार शेयर बजार परिसूचक नेप्सेमा रु. ४ अर्ब १८ करोडको कारोबार भएको छ। आवागमनमा अवरोधका कारण शेयर ब्रोकरको कार्यालय जान रोकिएपनि अनलाइन र घरमैं बसेर फोनमार्फत यति ठूलो परिमाणमा शेयर किनबेच भएको हो। यो शेयर बजारमा अहिलेसम्मकै दोस्रो ठूलो किनबेच हो। यसअघि, १५ फागुन, २०७६ मा रु. ४ अर्ब ४६ करोडको कारोबार भएको थियो।
बुधबार शेयर बजार परिसूचक नेप्से २५.५८ अंकले बढेर १ हजार ५१० विन्दु नाघेको छ। नेप्से परिसूचकले करिब ६ महिनापछि १ हजार ५०० विन्दु पार गरको छ । बजार पुँजीकरण झण्डै रु. २० खर्ब हाराहारीमा पुगेको छ।
बुधबार अधिकांश कम्पनीका शेयर मूल्य बढेका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार, १२९ कम्पनीका शेयर मूल्य बढेका छन् भने ३६ कम्पनीको शेयर मूल्य मात्र घटेको छ। ३ कम्पनीको मूल्य यथावत छ।
बुधबार निर्जीवन बीमा र जीवन बीमाबाहेक अरु सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै जलविद्युत समूह ९.३ प्रतिशतले बढेको छ। कयौं जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतसम्म नाफा कमाएका छन्। अन्य समूहका कम्पनीका तुलनामा जलविद्युत समूहका कम्पनीको शेयर सस्तो भएपछि लगानीकर्ता यसतर्फ आकर्षित भएका हुन्। लामो समयसम्म कयौं जलविद्युत कम्पनीका शेयरको मूल्य रु. १ सयको हाराहारीमा थियो। बुधबार बढी नाफा कमाउने १० कम्पनीका शेयर लगानीकर्तामध्ये ९ जलविद्युत कम्पनीका लगानीकर्ता छन्।
सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको रु. ६७ करोड ४२ लाख बराबरको शेयर किनबेच भएको छ। प्रभु, प्रुडेन्सियल लगायतका बीमा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।
अर्थतन्त्रका अन्य क्षेत्र ठप्प हुँदा लगानीकर्ता र व्यवसायीहरुको सक्रियता शेयर बजारतिर बढेकाले बजारमा चमक बढेको आकलन गरिएको छ। सानादेखि ठूला लगानीकर्ता अहिले शेयर बजारमा सक्रिय छन्। ब्यांक तथा वित्तीय संस्थासँग प्रशस्त लगानीयोग्य रकम रहेको र सजिलै कर्जा प्रवाह गरिरहेका कारण पनि बजार बढ्न सहयोग पुगेको एक स्टक ब्रोकरले बताए। “अन्यत्र लगानी गर्ने ठाउँ र अवस्था नभएकाले सबैतिरको रकम शेयर बजारमा ओइरिएको छ, त्यसैकारण बजारमा रौनक देखिएको हो,” उनले भने।