महामारीबीच किसानलाई मल अभावको पिरलो, जोखिम मोल्दै लाम लागे पनि पाउँदैनन्
धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको देशभर अभाव हुँदा किसान पिरोलिएका छन्। कोरोना संक्रमण महामारीका बीच मल किन्न पाइने आशामा कृषकहरु घण्टौं लाइनमा बसे पनि उनीहरुले मल पाइरहेका छैनन्।
अहिले अरु रासायनिक मल डीएपी र पोटासभन्दा युरिया मलको माग उच्च छ। बन्दाबन्दी अघिसम्म एक लाख ५७ हजार ८०६ टन युरिया मल मौज्दात रहेकोमा उक्त मल चैते धान र मकै बालीमा प्रयोग भइसकेको छ। थप मल आयात हुन नसकेपछि अहिले वर्षे धान बाली प्रभावित बनेको हो।
बन्दाबन्दीका कारण समयमा मल आपूर्ति हुन नसक्दा किसान मारमा परेका हुन्। रासायनिक मलको आपूर्ति सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गर्छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्धारण गरेको कोटामा साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत र कृषि सामग्री कम्पनीले ७० प्रतिशत रासायनिक मल आयात गर्दै आएका छन्।
साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारी आफूहरूले पाएको कोटामध्ये २० हजार टन मात्र नेपाल ल्याउन बाँकी रहेको बताउँछन्। उनका अनुसार, उक्त परिमाणको मल कलकत्ता बन्दरगाह आइपुगेको र बोरामा प्याकिङ भइरहेको छ।
“अघिल्लो वर्षको २१ हजार ५०० टन र थप ११ हजार १०० टन हाम्रो कोटा हो। १० हजार टन आएर पनि वीरगञ्जबाट वितरण भइसकेको छ। चार हजार ९०० टन विराटनगर पुगेर वितरण भइरहेको छ”, राजभण्डारीले भने। उनले दैनिक पाँच हजार टन मल आइरहेको र केही दिनभित्र सबै आइपुग्ने भन्दै सबैलाई पुग्ने गरी वितरण गरिरहेको बताए।
कृषि सामग्री कम्पनीले भने युरिया मल अझैसम्म ल्याउन सकेको छैन। कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरलले भने, "हाम्रोमा चार हजार टन डीएपी र केही टन पोटास मौज्दात छ। अहिले कृषकले खोजिरहेको युरिया मल हो, त्यो आइपुगेको छैन।”
साल्ट ट्रेडिङले चालु आर्थिक वर्षको पहिलो चौमासिकको बोलपत्रको काम सकेर मल आयात गरिरहेको छ। कृषि मन्त्रालयले स्वीकृति नदिएका कारण दोस्रो चौमासिकको लागि टेण्डर आह्वान गर्ने समय घर्किन थालेको प्रवक्ता राजभण्डारीले बताए।
उनले भने, “टेण्डरमा ढिलाइ भयो भने समयमा मल ल्याउन सकिंदैन। त्यसो हुँदा कृषकले गहुँ बालीका लागि पनि यस्तै दुःख पाउन सक्छन्।”
मंगलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले बाङ्लादेशी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरेर ५० हजार टन युरिया मल पैंचो दिन आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले ट्वीट गरेर आफ्नो आग्रहलाई बाङ्लादेशी समकक्षीले सकारात्मक रूपमा लिएको समेत उल्लेख गरेका थिए।
नेपालमा अहिले वार्षिक कम्तीमा पाँच लाख टन युरिया मलको माग छ। साल्ट ट्रेडिङका प्रवक्ता राजभण्डारीका अनुसार, सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. ११ अर्ब रूपैयाँले उक्त माग अनुसारको मल आयात गर्न सकिन्छ।