ज्ञानोदय माविमा उदाहरणीय पुस्तकालय
ठूलो हलको बीचमा लामो टेबल छ । टेबलको बायाँतर्फ २० वटा चकटी फराकिलो गरी ओछ्याइएको छ, दायाँतर्फ २२ वटा कुर्सी छन् ।
चारैतिर भित्तामा र्याक बनाइएको छ, र्याकभरि पुस्तकहरू सजाइएका । काठमाडौंको बाफलस्थित ज्ञानोदय माविमा रहेको यो पुस्तकालयमा दैनिक कम्तीमा ४५ जना विद्यार्थी र १५ जना शिक्षक पुग्ने गरेको पुस्तकालयको रेकर्डबाट देखिन्छ ।
पुस्तकालयमा विशेषगरी विद्यार्थीका लागि आवश्यक विभिन्न विषयका करीब पाँच हजार पुस्तक छन् ।
दुई हजार ५४३ विद्यार्थी रहेको यो विद्यालयको कुनै कक्षामा शिक्षक अनुपस्थित भए भने कक्षाका सबै विद्यार्थीलाई पुस्तकालयमा गएर पढ्न अनिवार्य गरिएको प्रधानाध्यापक नातिकाजी महर्जन बताउँछन् ।
नियमित पुस्तकालय जाने ७ कक्षाकी छात्रा सोनी महर्जन पुस्तकालयका पुस्तकबाट सामान्यज्ञानका धेरै कुरा जान्न मद्दत पुगेको बताउँछिन् ।
उनी भन्छिन्, “कोर्सबुक कक्षामा र आउट नलेजका बुक लाइब्रेरीमा पढ्छु ।” ज्ञानोदयको उक्त पुस्तकालयले आर्थिक वर्ष २०७४/७५ मा शिक्षा विभागबाट रु.६ लाख ५० हजार अनुदान समेत प्राप्त गरेको थियो ।
उक्त रकम पुस्तकालयको फर्निचर र पुस्तक व्यवस्थापनमा खर्च गरिएको प्रधानाध्यापक महर्जन बताउँछन् ।