काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञामा कडाइ गर्न मेयरहरूको सुझाव, तीन जिल्लाका सिडिओको बैठक जारी
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई कडाइ गर्न स्थानीय सरकारका प्रमुखहरूले सुझाव दिएका छन्। उपत्यका नगरपालिका मेयर फोरमको आज बसेको भर्चुअल बैठकले जारी निषेधाज्ञालाई थप एक साता कडाइ गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुझाव दिएको हो।
मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका भक्तपुरका प्रमुख, मदनसुन्दर श्रेष्ठले निषेधाज्ञालाई थप कडाइ गर्न प्रशासनलाई सुझाव दिइएको बताए।
“निषेधाज्ञा एक हप्ता थप्नैपर्छ, यसमा दुईमत छैन। तर, अहिलेको जस्तो बिहान ९ बजेसम्म पसल खोल्न दिने, ‘मर्निङ वाक’मा निस्किन दिने गरेर हुँदैन” श्रेष्ठले भने, “त्योभन्दा पनि कडा गर्नुपर्छ भनेका छौँ। त्यो भनेको कर्फ्युकै तहसम्म जानुपर्छ भन्ने हो।”
उनले अहिले बिहान पसल खोल्न दिंदा भीडभाड बढेको र त्यसले झन् संक्रमणको जोखिम बढाएको बताए।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पनि एक हप्ता निषेधाज्ञा बढाउन अनुरोध गरिएको तर, सधैं निषेधाज्ञा गरेर नहुने बताए। उनले अबको एक हप्तापछि भने निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने मत राखे। पीसीआर परीक्षणलाई व्यवस्थित बनाउँदै यस विषयमा सोच्नुपर्ने उनको भनाइ छ।
“अहिले संक्रमितको सम्पर्कमा आएकाको पहिचानका लागि एक हप्ता निषेधाज्ञा बढाउन माग गरेका हौँ। तर, सधैं यसरी चल्दैन। अब दीर्घरोगी र वृद्धवृद्धा बाहेक अरुलाई नियमित काममा फर्कने व्यवस्था मिलाउनुपर्छ। कर्फ्यु लगाउँदा जनजीवनमा उल्टो असर पर्छ। जसलाई थेग्न हामीलाई गाह्रो पर्छ।”
यसैबीच, निषेधाज्ञाबारे निर्णय गर्न अहिले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भर्चुअल बैठक चलिरहेको छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अहिले बैठक चलिरहेको जानकारी दिंदै बेलुकासम्ममा निर्णय हुने बताइन्।
काठमाडौं उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजे सकिंदैछ। उपत्यकामा ४ भदौदेखि निषेधाज्ञा जारी छ। कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको थियो।