मुगुको बाणिज्य ब्यांक शाखाले भेटायो रु. १००० को नक्कली नोट
कारोवार गर्न आएका सेवाग्रहीबाट मुगु जिल्लाको राष्ट्रिय वााणिज्य ब्यांक शाखाले एक हजारको नक्कली नोट फेला पारेको छ।
मंगलबार छायाँनाथ रारा नगरपालिका–१३ का सुरथबहादुर रावतले आफ्नो खातामा जम्मा गर्न ल्याएको एक हजारको नोटमाथि शंका लागेपछि राष्ट्रिय वाणिज्य ब्यांक मुगु शाखाका कर्मचारीले चेक गर्दा नक्कली भएको फेला परेको हो।
एक हजारको एउटा मात्र नोट जम्मा गर्न आएका रावतले जम्मा गरेर घर फर्किसकेपछि अन्य नोट भन्दा फरक लागेपछि नोट चेक गर्दा नक्कली भेटिएको ब्यांकका नगद सहायक सरोज न्यौपानेले बताए।
भेटिएको नोटमा सक्कली नोट भन्दा तौल कम भएको,रंग फिंंक्का देखिएको, हातमा नोट मुठ्ठी पार्दा कागज जस्तै डल्लो पर्ने गरेको, पानी छापमा रहेको लालीगुराँस नभएको,नोटको बीचमा रहेको सिल्भर चम्किलो रेखा नभएको पाइएको उनले बताए।
छायाँनाथ रारा नगरपालिका–१३ भट्टेचौर पुलमा रहेको होटेलमा सोमबार खसी काटेको र मासु लिन आउने ग्राहकमध्ये कसैले उक्त नोट दिएको र मंगलबार होटेलमा आएका ग्राहकले उक्त नोट नक्कली भएको भनेपछि आफूले ब्यांकलाई बुझाएको रावतले बताए।
नक्कली नोट फेला परेपछि थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय र नेपाल राष्ट्र ब्यांकलाई समेत जानकारी गराइएको वाणिज्य ब्यांकले बताएको छ।