धनगढी उपमहानगरको महिला आइसोलेसन सेन्टरः मनोपरामर्शदेखि व्यायामसम्मको सुविधा
धनगढी उपमहानगरले सञ्चालन गरेको महिला आइसोलेसन सेन्टरमा अहिले २४ संक्रमित बसेका छन्। २२ जना कैलालीकै हुन् भने आमा–छोरी दुई जना डोटीका हुन्। यसबाहेक दुई गर्भवतीसहित १४ जना निको भएर घर फर्किसकेका छन्।
धनगढी उपमहानगरपालिका–१५ की २४ वर्षीया तुलसा विक मानसिक रुपमा अलि सुस्त छिन्। उनी आफ्नो श्रीमान् सुगमसँग एक महीनाअघि भारतको मुम्बईबाट नेपाल फर्किइन्।
उनीहरुको डेढ वर्षको बच्चा छ। अहिले उनी आठ महीनाकी गर्भवती छिन्। उनलाई कोरोनाभाइरस पोजिटिभ देखिएको १३ दिन भयो। तर, लक्षण देखिएको छैन।
उनका श्रीमान् पनि शारीरिक रुपले अपांगता भएका छन्। अहिले उनी आफैँ श्रीमती तुलसाको स्याहार गरिरहेका छन्। २४ जना महिला भएको आइसोलेसन सेन्टरमा उनी एक्ला पुरुष हुन् ।
उनीहरु एउटै कोठामा बस्छन्। “श्रीमतीको स्याहार गर्दागर्दै मलाई पनि कोरोना सर्छ कि भन्ने डर लाग्छ। सानो बच्चा पनि सँगै छ, मास्क लगाउन मान्दैन। सामाजिक दूरी कायम गरेर एउटै कोठामा बसिरहेका छौं”, उनी भन्छन्।
तुलसा अब भारत काम गर्न नजाने सोचमा छिन्। संक्रमितहरुलाई समाजले गरेको विभेद र हेला उनलाई चित्त बुझेको छैन। भारतमै संक्रमित भएको उनको अनुमान छ।
श्रीमान् सुगमलाई भने नेपालमा काम नपाउने चिन्ता छ। भारतमा तुलसा घरको काम गर्थिन्। सुगम किराना पसलमा काम गर्थे। दुवैको पारिश्रमिक गरी मासिक २९ हजार रुपैयाँ कमाइ हुन्थ्यो।
सुगम भन्छन्, “कमाएको पैसा बचत गरेर बैंकमा राखेका छौं, नेपालमा काम नपाए पनि त्यही पैसाले गुजारा गर्छौँ। महामारी सकिएपछि तुलसा यतै बस्छिन्, म भारत नै जान्छु।”
धनगढी उपमहानगरपालिका–११ की २५ वर्षीया ललिता विक दुई महीनाकी गर्भवती छिन्। उनी पनि श्रीमानसँगै गएको ३१ साउनमा नेपाल फर्किएकी हुन्। ४ भदौमा परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पत्ता लाग्यो।
उनी होल्डिङ सेन्टर हुँदै आइसोलेसनमा आउँदा निकै डराएकी थिइन्। “शुरुमा गाउँघरमा सबैले छिःछि र दुरदुर गर्छन् भनेर डर लागेको थियो। पेटमा हुर्किदै गरेको बच्चालाई असर होला भनेर गर्भपतन गर्ने सोच पनि बनाएकी थिएँ। अहिले डर हरायो”, उनी भन्छिन्।
उनी दुई वर्षको पहिलो बच्चा घरमै छोडेर आइसोलेसनमा बसेकी छिन्। लक्षण भने देखिएको छैन। उनलाई आइसोलेसनमा आउनेबित्तिकै मनोपरामर्श दिइएको थियो।
उनी भन्छिन्, “यो रोग जो केहीलाई पनि लाग्न सक्छ, रोग लागेपछि सहारा चाहिएको हुन्छ। त्यसैले घरपरिवार र समाज सबैले हामीलाई माया गरिदिनु पर्यो। कोरोनालाई जित्न आत्मबल चाहिन्छ।” आइसोलेसन सेन्टरमा पोषिलो खानेकुरा, मनोपरामर्श सेवा, शारीरिक व्यायाम, नाचगान भइरहेकाले आत्मबल बढेको उनी बताउँछिन्।
उनी जस्तै धेरै महिला त्यहाँ बस्छन्। शुरुमा एक–अर्काको नजिक जाँदैनथे। तर, अहिले सबै साथैमा रमाइलो गर्छन्।
पोलिटेक्निकल इन्ष्टिच्युट भाडामा लिएर आइसोलेसन सेन्टर
हीरा भण्डारीले सञ्चालन गर्दै आएकाे बी पोलिटेक्निकल इन्ष्टिच्युटमा महिला होल्डिङ सेन्टर र आइसोलेसन सञ्चालन गरिएको छ। नगरपालिकाले भण्डारीसँग मासिक रु.२ लाख २० हजार भाडा दिने गरी सम्झौता भएको हो। यस अवधिमा खटिने कर्मचारीहरुलाई पनि झण्डै ९० हजार तलब दिने गरी सम्झौता गरिएको उपमहानगरपालिकाको कोभिड उप–समितिका संयोजक नारायणप्रसाद बरालले जानकारी दिए।
उनले होल्डिङ सेन्टरको लागि आठ र आइसोलेसनको लागि २० वटा बेड राखिएको जानकारी दिए। नगरपालिकाले गर्भवतीलाई लक्षित गरी सञ्चालन गरेको आइसोलेसन सेन्टरमा भारतबाट आएका महिला पनि राखिने गरिएको छ।
बी पोलिटेक्निकल इन्ष्टिच्युटकी सञ्चालक हीरा भण्डारीले पहिला पनि तीन महीना निःशुल्क क्वारेन्टिन स्थापना गरेको बताइन्। क्वारेन्टिनमा ३०० जना बसेका थिए।
आइसोलेसन स्थापना गर्दा शुरुकाे एक हप्ता निकै समस्या भयो। पैसा तिरेर पनि जनशक्ति नपाएपछि आफैं भान्सामा खटेको उनले सुनाइन्। अहिले पाँच जनाले उनलाई काममा सघाइरहेका छन्।
संक्रमितलाई नियमित खानाका अतिरिक्त हप्तामा दुई पटक मासु, दैनिक दुई पटक एक/एक गिलास दूध र एक/एक वटा अण्डा दिइन्छ। त्यस्तै हर्लिक्स, चना, परोठा जस्ता खानेकुरा खुवाइन्छ। संक्रमितहरुको मनोबल उच्च पार्न हरेक बिहान घाम ताप्न लगाउने, तातोपानी, तातो झोल खुवाउने र नाचगानमा सहभागी गराउने भण्डारी बताउँछिन्।
उक्त सेन्टरलाई होम बृज, नेपाल–भारत मैत्री संघ, मिश्र सेन्टर, बाल हेल्पलाइन, युनिसेफ, कैलाली उद्योग वाणिज्य संघ, जेसिस, केयर नेपाललगायत संस्थाले खाद्यान्न, स्वास्थ्य सामग्री लगायत सहयोग गर्दै आएका छन्। दुई महिला सुरक्षाकर्मी र तीन स्वास्थ्यकर्मी पनि नियमित खटिएका छन्।
व्ययभार कम गर्न आइसोलेसन सार्ने तयारी
धनगढी उपमहानगरपालिकाले बी पोलिटेक्निकल इन्ष्टिच्युटमा संचालन गरेको महिला होल्डिङ र आइसोलेसन सेन्टर त्यहाँबाट सारिने पत्र पठाएको छ।
धनगढी उपमहानगरपालिका कोभिड उप–समितिको सोमबार बसेको बैठकले होल्डिङ र आइसोलेसन सेन्टर उप–महानगरपालिकाको स्वामित्वमा रहेको कनरी जडीबुटी प्रशोधन केन्द्रमा सार्ने निर्णय गरेको कोभिड उप–समिति संयोजक बराल बताउँछन्।
बैठकमा बी पोलिटेक्निकल इन्ष्टिच्युटमा महिला होल्डिङ र आइसोलेसन संचालनका लागि सहयोग गर्ने संघसंस्था, निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो। आफ्नै भवनमा सार्दा उप–महानगरपालिकालाई व्ययभार कम हुने बरालले बताए।
उप–महानगरपालिकाले यस विषयमा बी पोलिटेक्निकल इन्ष्टिच्युटकी संचालक हीरा भण्डारीलाई पत्र पठाइसकेको जनाएको छ। कनरीमा सारिएपछि बेड पनि थप्न सकिने बताइएको छ।