७० करोड घूस मोलमोलाइमा मुछिएका मिश्रलाई अख्तियारको सात दिने सूचना, मिश्र भन्छन्- ‘प्रमाण लिन जापान आएको छु’
तत्कालीन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले घूस मोलमोलाइ गरेको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि बोलाएको छ।
आज सूचना जारी गर्दै अख्तियारले मिश्रलाई अनुसन्धानका लागि बोलाएको हो। ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनको लागि मोलमोलाइ गरेको भन्ने विषयको अनुसन्धानको सिलसिलामा तपाईसँग बुझ्नुपर्ने भएकाले यो सूचना जारी गरिएको छ’, मिश्रको नाउँमा जारी अख्तियारको सूचनामा उल्लेख छ।
अख्तियारले मिश्रलाई सात दिनभित्र प्रहरी महाशाखामा सम्पर्क राख्न भन्दै त्यतिन्जेल नआएमा कानून बमोजिम हुने जनाएको छ। तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले प्रेस खरीदमा ७० करोड घूसमा मोलमोलाइ गरेको अडियो मिश्रले सार्वजनिक गरिदिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
त्यसपछि बाँस्कोटाले काठमाडौं जिल्ला अदालतमा मिश्रका विरूद्ध गालीबेइज्जतीको मुद्दा हालेका छन्। मिश्रले भने बाँस्कोटालाई भ्रष्टाचारमा कारबाहीको माग गर्दै अख्तियारमा निवेदन दिएका थिए। हाल जापानमा रहेका मिश्रले त्यहींबाटै विज्ञप्ति जारी गरी आफू प्रमाण लिन जापान आएको र छिट्टै फर्कने बताएका छन्।
केही सञ्चारमाध्यममा मिश्र फरार रहेको भन्ने समाचार सार्वजनिक भएपछि उनले विज्ञप्ति जारी गरी आफू छिट्टै नेपाल फर्कने जनाएका हुन्। ‘उक्त प्रकरणमा अख्तियारबाट सहयोग मागिएकाले अडियो रेकर्डिङको डिभाइस लिन म जापान आएको छु’ विज्ञप्तिमा भनिएको छ, ‘म फरार भएको भनी गरिएका प्रचारहरू गलत हुन्, अख्तियारको पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारमा बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा लिन म आएको हुँ। नेपाल फर्किने फ्लाइट निश्चित भइसकेको अवस्थामा भागेर जापान गयो भनी प्रचार गरियो।’
भ्रष्टाचारजस्तो राज्यविरुद्धको अपराधबाट कोही पनि राजनीतिक व्यक्ति वा सर्वसाधारण उम्कन नसक्ने मिश्रले बताएका छन्। ‘सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रि चरित्र हो’ उनले भनेका छन्।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा बाहिर आउन बाँकी विषय अझै गर्भमा दबिएका भन्दै उनले सबै प्रमाणहरू अख्तियारसमक्ष पेश गर्ने बताएका छन्।