फ्रान्सेली पत्रिका चार्ली हेब्डोले फेरि छाप्यो पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन
फ्रान्सेली व्यङ्व्य पत्रिका चार्ली हेब्डोले फेरि पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन प्रकाशन गरेको छ। यिनै कार्टुन प्रकाशन गरेको कारण सन् २०१५ मा चार्ली हेब्डोको कार्यालयमा आतंककारी हमला भएको थियो।
उक्त आक्रमणमा सहयोग गरेको आरोप लागेका १४ जनाविरुद्ध हुने सुनुवाइको अघिल्लो दिन कार्टुन पुनः प्रकाशन गरिएको छ। ७ जनवरी २०१५ मा भएको आक्रमणमा पत्रिकाका सम्पादक र प्रसिद्ध कार्टुनिष्टसहित १२ जनाको ज्यान गएको थियो। त्यसको केही दिनपछि यही घटनासँग जोडिएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो।
यो घटनापछि नै फ्रान्समा आतंकवादी हमलाको सिलसिला शुरु भएको थियो। पत्रिकाको नयाँ संस्करणको आवरण पृष्ठमा पैगम्बर मोहम्मदको १२ कार्टुन छापिएको छ।
डेनमार्कको एक पत्रिकाले सन् २००५ मा छापेको कार्टुन नै चार्ली हेब्डोले लगातार प्रकाशन गरेको हो। ती कार्टुन छापिएपछि डेनमार्कमा पनि तनाव उत्पन्न भएको थियो।
१२ मध्ये एउटा कार्टुनमा पैगम्बरको शिरमा बम बाँधेको देखाइएको थियो। जसमा फ्रेन्च भाषामा लेखिएको हेडलाइनको अर्थ थियो, ‘त्यो सबैथोक यसैका लागि हो।’
पत्रिकाले आफ्नो सम्पादकीयमा सन् २०१५ को आक्रमणपछि पनि पैगम्बरको व्यङ्ग्यचित्र छाप्न जारी राख्ने बताएको उल्लेख गरेको छ। सम्पादकीयमा लेखिएको छ, “कानून हामीलाई यसो गर्न अनुमति दिन्छ। तर, यसो गर्न राम्रो कारण हुनुपर्छ। जसले कुनै बहस पैदा होस्। यो कार्टुन जनवरी २०१५ को आक्रमणको सुनुवाइ शुरु हुने हप्ता छाप्न हामीलाई जरुरी लाग्यो।”
१४ व्यक्तिमाथि उक्त हमलामा संलग्नका लागि हतियार जुटाउने र अन्य सहयोग गरेको आरोप छ। साथै केही दिनपछि यहुदी सुपर मार्केट र एक प्रहरीमाथि भएको हमलामा सहयोग गरेको आरोप पनि छ।
तीन जनामाथि भने उनीहरुको अनुपस्थितिमा सुनुवाइ हुँदैछ। उनीहरु इराक भागेको आशंका छ।
के भएको थियो सन् २०१५ मा ?
फ्रान्सको चर्चित पत्रिका चार्ली हेब्डो सत्ता विरोधी व्यङ्ग्य छाप्छ। अति दक्षिणपन्थी इसाई, यहुदी र इस्लामिक मान्यतामाथि प्रहार गर्ने कारण लामो समयदेखि यो पत्रिका विवादमा छ।
सन् २०११ मा चार्ली हेब्डोको कार्यालयमा पेट्रोल बमसमेत हानिएको थियो। मैगम्बर मोहम्मदको कार्टुन छापेपछि भने पत्रिकाको टीमलाई लगातार ज्यान मार्ने धम्की आएको थियो।
७ जनवरी २०१५ मा सेड र चेरिफ कोची नामका दुई दाजुभाइ चार्ली हेब्डोको कार्यालयमा घुसेर गोली चलाएका थिए। उक्त घटनामा सम्पादक स्टिफेन चार्बोनियर, चार कार्टुनिष्ट, दुई स्तम्भकार र एक/एक जना कपी एडिटर, केयरटेकर र पाहुनाको पनि मृत्यु भएको थियो। आक्रमणमा सम्पादकका अङ्गरक्षक र एक प्रहरी अधिकारी पनि मारिएका थिए।
प्रहरीले यी दाजुभाइलाई खोज्न थालेपछि एक सहयोगीले एक जना महिला पुलिसको हत्या गरेर कयौँ व्यक्तिको यहुदी सुपर मार्केटमा बन्धक बनाएका थिए। उनीहरुले ९ जनवरीमा चार जना यहुदीको हत्या गरेका थिए। त्यसपछि प्रहरीको गोलीबाट उनको मृत्यु भएको थियो।
मृत्युअघि रेकर्ड गरिएको भिडियोमा उनलले इस्लामिक स्टेट (आईएस) लाई यसको जस दिएका थिए। पछि दुवै दाजुभाइको प्रहरी कारबाहीमा मृत्यु भएको थियो।
-बीबीसी र अन्य एजेन्सीहरुको सहयोगमा