कोरोना अपडेट: आज थपिएका कुल संक्रमितमध्ये ३७ प्रतिशत काठमाडौं जिल्लामा
मंगलबार देशका ५४ वटा जिल्लामा कुल १०६९ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा देखिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल १०६९ जनामध्ये काठमाडौं जिल्लामा ३९३ जना रहेका छन्। जुन कुल संक्रमितको ३६.७६ प्रतिशत हो।
त्यस्तै अन्य १० जिल्ला रुपन्देहीमा ९१ जना, सुनसरीमा ५६ जना, ललितपुरमा ५८ जना, चितवनमा ४५ जना, बझाङमा ४० जना, बाँकेमा ३३ जना, लमजुडमा ३२ जना, भक्तपुरमा ३० जना, डोटीमा २४ जना र कैलालीमा २० जना संक्रमित थपिएका हुन्।
त्यस्तै धेरै कोरोना संक्रमित भएको प्रदेश-२ का जिल्लाहरूमा कुल संक्रमितको संख्या आज ४० देखिएको छ। प्रदेश-२ का जिल्लाहरूमध्ये सर्लाहीमा १९ जना र केही दिनअघिसम्म हटस्पट रहेको पर्सामा २ जना र अर्को बढी प्रभावित जिल्ला बारामा ११ जना थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। प्रदेशकै अन्य जिल्लामध्ये रौतहटमा ५ जना, महोत्तरीमा २ जना र धनुषा तथा सप्तरीमा १/१ जना संक्रमित भेटिएका छन्।
आज थपिएका कुल १०६९ संक्रमितमध्ये ७२५ पुरुष र ३४४ महिला छन्। काठमाडौं जिल्लाको कुल संक्रमित ३९३ मध्ये १३९ महिला र २५४ पुरुष संक्रमित छन्।