एयर अरेबियाको उद्धार उडान छानविन प्रतिवेदन भन्छ- एयरलाइन्सको कमजोरी देखिएन
सरकारले एयर अरेबियाले उद्धार उडानमा लापरवाही गरेको र यात्रुले होटल क्वारेन्टिमा समस्या भोगेको गुनासोका आधारमा गठन गरेको छानविन समितिले प्रतिवेदन तयार पारेको छ। पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले प्रतिवेदन तयार पारेको हो।
प्रतिवदेनमा एअर अरेबियाले उद्धार उडानमा लापरवाही नगरेको र यात्रुले होटल क्वारेन्टिनमा बस्नुपरेको समस्याको विषयमा पुष्टि गर्ने प्रमाण फेला नपरेको उल्लेख छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १२ भदौमा उक्त उडानमा सम्बन्धित वायुसेवाले सारजाहबाट काठमाडौं ल्याएको १६१ यात्रुलाई समस्यामा पार्ने गरी होटलमा राखेको गुनासो अएपछि तीन दिनको समय दिएर छानविन टोली गठन गरेको थियो।
यो छानविनबाट एयरलाइन्सले यात्रुलाई उडान गर्दा तोकिएको सर्त पूरा गरेको र होटल क्वारेन्टिनमा बस्नेगरी प्रतिव्यक्ति रु.१७ हजार नौ सय लिएको देखिएको बताइएको छ। उक्त उडानबाट आएका यात्रुमध्ये १५५ जनाको पीसीआर र ६ जनाको आरडीटी रिपोर्ट थियो।
४ भदौमा सरकारले पीसीआर रिपोर्ट नभएका यात्रु ल्याउन नपाइने र कुनै वायुसेवाले ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट नभएको यात्रु मिसाएर ल्याए सम्बन्धित वायुसेवाले नै होटल क्वारेन्टिनमा राख्ने सर्तमा ९ भदौदेखि उद्धार उडान गर्न अनुमति दिएको थियो।
सो निर्णयपछि पहिलो उद्धार उडानमा एयर अरेबिया आएको थियो। यो वायुसेवाले यात्रुलाई होटलमा बस्ने सर्तमा टिकटसँगै होटल शूल्क लिएको थियो।
यसअघि सरकारले ३२ साउनमा उद्धार उडानबाट आउने सबै यात्रुलाई होटल क्वारेन्टिनमा बस्ने सर्तमा मात्रै उद्धार उडान गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार एअर अरेबियाले यात्रु उडान गर्ने र होटल क्वारेन्टिनमा राख्ने गरी नै यात्रु ल्याएको छानविन समितिले तयार पारेको उक्त प्रतिवेदनमा उल्लेख छ।
यो वायुसेवाबाट आएका यात्रुले भने होटलमा खानाको राम्रो व्यवस्था नभएको, तोकिएको सेवा नदिएको र यात्रुले होटलमा पैसा तिरेपछि सो अनुसारको सुविधा नपाएको भन्दैै गुनासो गरेका थिए। यो एअरलाइन्सले ल्याएका यात्रुमध्ये ८८ जना एयरपोर्ट होटलमा, ३ जना बुढानिलकण्ठको पार्क भिलेजमा, ३ जना गौशालाको मिरार्ड लजमा र ६७ जनालाई गौशालाकै होटल आनन्दमा राखिएको थियो।
होटल क्वारेन्टिनबाट ३ दिनमै घर फिर्ता
सरकारले होटल क्वारेन्टिनमा पुगेका यात्रुलाई ७ दिन अनिवार्य बस्ने र पीसीआर परीक्षण गरेर मात्रै घर पठाउने निर्णय गरेको भएपनि होटल क्वारेन्टिनमा बसेका यात्रु ३ दिनमै घर फर्किएका छन्। १३ भदौमा सिंगापुरबाट आएको सिल्क एअरले ल्याएका १४८ यात्रु सबैको पीसीआर रिपोर्ट नभएको भन्दै होटल क्वारेन्टिनमा पठाइएको थियो।
उक्त एयरबाट आएका यात्रुलाई गौशालाको होटल शिवम् प्लाजा र रिडर्स होटलको क्वारेन्टिनमा राखिएको थियो। शिवममा राखिएका ५९ यात्रुलार्ई मंगलबार नेपाली सेनाको समन्वयमा घर पठाएको हो।
सरकारले ७ दिन अनिवार्य बस्नुपर्छ भनेपनि सबै यात्रुले पीसीआर रिपोर्ट ल्याएको र सो उडानबाट आरडीटी रिपोर्ट ल्याएका यात्रुको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकोले सबैलाई होटलबाट घर पठाएको भनिएको छ।
यो एअरलाइन्सले अस्ट्रेलिया र अमेरिकाबाट नेपाली ल्याएको थियो। सो उडानमा सरकारी उच्च पदस्थ कर्मचारीका आफन्त आएकोले शिवम् होटलको क्वारेन्टिनमा पुगेका ३ जनालाई शनिबार नै परिवारले फिर्ता लगेको पनि होटल स्रोतले जानकारी दिएको छ।
सरकारको निर्णय अनुसार ७ दिन अनिवार्य होटलमा बस्नुपर्ने व्यवस्था भएको र सोही अनुसारका यात्रु होटलमा पुगेका भएपनि तोकिएको समयभन्दा अगाडि नै फिर्ता पठाइएको हो।
अस्ट्रेलियाबाट फर्किएका देवीबहादुर कटुवालको तीन जनाको परिवार पनि सिल्क एअरबाटै नेपाल फर्किएका थिए। उनलाई होटल क्वारेन्टिनमा बस्नु नपर्ने र पीसीआर रिपोर्ट भएका कारण सीधै घर जान पाइने भनेकोले काठमाडौं आएको तर सरकारले जबरजस्ती होटलमा पठाएको गुनासो उनले गरे।
उनले घरमा जान पाउनुपर्ने र होम क्वारेन्टिनमा बस्न पाउनुपर्ने माग गर्दै आएका थिए। शिवम् होटलमा बसेका सबै यात्रुलाई घर पठाउने भएपछि कटुवाल पनि मंगलबार बेलुका नै भक्तपुरस्थिति घर गएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।