मोरङमा निषेधाज्ञा खुकुलो पार्दै तेस्रो साता पनि जारी
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा केही खुकुलो पार्दै तेस्रो सातापनि निषेधाज्ञा जारी राखेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले १६ भदौ राति १२ बजेदेखि २२ भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्धारा जारी विज्ञप्तिमा मोरङमा १६०० जना संक्रमित भएको र १६ जनाको मृत्यु भइसकेकाले निषेधाज्ञा जारी राखिएको जनाइएको छ।
आजसम्म एक साता दिउंसो १२ बजेसम्म पसल खुल्ला रहने गरी निषेधाज्ञा लगाइएकोमा आगामी साता अपरान्ह ४ बजेसम्म पसल संचालन गर्न पाइंने भएको छ। राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिंडडुलमा पूर्ण प्रतिबन्ध लगाइएको छ। जिल्लाभरी निषेधाज्ञा जारी भएपनि ग्रामिण क्षेत्रमा हाटबजार सुचारु रहेपनि स्थानीय प्रशासनले बन्द गराएको थिएन।
यस अवधिमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधान चलाइने पाइने छ। यो नियम ईरिक्सालाई पनि लगाउंदै २ जना मात्रै यात्री राख्न पाइने आदेशमा जनाइएको छ। होटलमा जमघट हुंने गरी सेवा संचालन गर्न नपाइने भएपनि होम डेलिभरी र प्याकिङ गरेर सेवा प्रदान गर्न पाइने जनाइएको छ।
यसअघि बन्दाबन्दी अवधिभरी होटल संचालनको अनुमति स्थानीय प्रशासनले नदिएको भएपनि असार र साउनमा साना होटल र रेष्टुरेण्ट खुल्ला थिए। सरकारी कार्यालय तथा निकायहरुले आलोपालो गरी न्युनतम कर्मचारीको उपस्थितीमा २१ भदौबाट संचालन गर्न सक्ने छन्।