दोहाबाट उद्धार उडान : विमानस्थलदेखि होल्डिङ सेन्टरसम्म (तस्वीरहरू)
विश्वव्यापी कोरोनाभाइरस संक्रमणको महामारीपछि हवाई यातायात बन्द हुँदा धेरै नेपाली विदेशमा अलपत्र परे। श्रम, अध्ययन र भ्रमणका लागि विभिन्न मुलुक पुगेका उनीहरू उतै अड्किए। विदेशमा रहेका नेपाली समस्यामा पर्न थालेपछि सरकारले उनीहरूको उद्धार थाल्यो।
३२ असारदेखि शुरू भएको उद्धार उडान आज मंगलबार, १६ भदौसम्म जारी छ। मंगलबारबाटै सरकारले ६ महीनापछि नियमित अन्तर्राष्ट्रिय उडान शुरू गराएको छ। नियमित उडान शुरू भएपनि उद्धार उडान रोकिने छैन। भोलि बुधबार, १७ भदौदेखि पनि उद्धार उडान जारी रहनेछ।
मंगलबार कतारको दोहाबाट हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले २६२ जना यात्रु ल्याएका छन्। ती यात्रुलाई नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको धुम्बाराहीस्थित् स्काई जोन पार्टी प्यालेसमा पुर्याएको छ। उक्त पार्टी प्यालेसबाट सम्बन्धित प्रदेशमा जाने व्यवस्था मिलाइएको छ।
सरकारले आजसम्म उद्धार उडानबाट ५५ हजार ४१० जना नेपाली स्वदेश फिर्ता ल्याएको छ। उद्धार उडानबाट स्वदेश फर्किएका सबै यात्रुलाई विमानस्थलबाटै नेपाली सेनाले काठमाडौंभित्रकै होल्डिङ सेन्टरमा लैजान्छ।
सबै यात्रुले ७२ घण्टाभित्रको कोरोना परीक्षणको नतिजा नेगेटिभ भएको रिपोर्ट ल्याएमा भने १४ दिन होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाउने गरिएको छ।
थप तस्वीरहरू: