रासायनिक मल माग्न प्रधानमन्त्री ओलीले गरे बांग्लादेशी समकक्षीलाई टेलिफोन
रासायनिक मलको चरम अभाव भएपछि सरकारले बांग्लादेशसँग ५० हजार टन युरिया मल सापटी लिने प्रस्ताव अघि बढाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरेर रासायनिक मल सहयोग गर्न अनुरोध गरेका छन्।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै रासायनिक मलको तत्काल आपूर्ति गरी सहयोग गर्न आफूले राखेको प्रस्तावलाई बांग्लादेशकी प्रधानमन्त्री हसिनाले सकारात्मक रुपमा लिएको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले व्यापार, ऊर्जासहितका द्धिपक्षीय हितका विषयमा पनि बांग्लादेशकी समकक्षी हसिनासँग कुरा भएको उल्लेख गरेका छन्।
खेतीपातीको मुख्य मौसममै रासायनिक मलको चरम अभाव भएपछि सरकारी अधिकारीहरुले बांग्लादेशसँग सहयोगका लागि अनुरोध गरेका थिए। केही दिन भित्रै दुई देशका अधिकारीहरुबीच युरिया मलको तत्काल आपूर्तिका विषयमा समझदारी हुने सम्भावना रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीले बताए। तर, कुन प्रकृया र पद्दतिबाट बांग्लादेशले मल दिन्छ भन्ने अन्तिम टुंगो लागिसकेको छैन। तत्काललाई बांग्लादेशसँग मौज्दातमध्ये ५० हजार टन मल सापटी लिएर पछि ग्लोबल टेण्डरमार्फत सापटी फिर्ता गर्ने प्रस्ताव नेपाली अधिकारीहरुले गरेका छन्।
धान बालीलाई युरिया मल हाल्ने समय गुज्रिइसके पनि गहुँ, तरकारी लगायतका बालीका लागि समेत रासायनिक मल अभाव हुने पक्का छ। त्यसैकारण, सरकारले बांग्लादेशसँग सहयोगका लागि प्रस्ताव अघि बढाएको हो। कृषि सामग्री कम्पनीले ठेक्का लगाएको मल आपूर्तिकर्ताले नल्याएपछि कृषि मन्त्री घनश्याम भुसालले कुटनीतिक माध्यमबाट मल ल्याउन पहल थालेका थिए।
यो वर्ष मौसमी अनुकुलतका कारण देशको अधिकांश खेतमा धान रोपाई भएपनि रासायनिक मलको अभावमा उत्पादन भने खस्किने जोखिम छ ।