काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने/नथप्नेबारे गृह मन्त्रालयसँगको परामर्शपछि मात्र निर्णय
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने/नथप्नेबारे गृह मन्त्रालयसँग परामर्श गरेर मात्र निर्णय गरिने भएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच आज भएको भर्चुअल छलफलमा गृह मन्त्रालयसँग परामर्श गरेर निषेधाज्ञाबारे निर्णय गर्ने सहमति भएको हो।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज कुनै निर्णय नभएको बताइन्। “हामीले भर्चुअल छलफल गर्यौँ, औपचारिक निर्णय केही भएको छैन। भोलि सुरक्षा समितिको बैठकपछि निर्णय हुन्छ”, पाण्डेले भनिन्।
निषेधाज्ञाको अहिलेसम्मको प्रभाव र उपलब्धीका विषयमा भने सीडीओहरूबीचको छलफलमा समीक्षा भएको छ। र, साझा धारणा बनाइएको छ।
“आजको छलफलमा एउटा साझा धारणा बनेको छ। भोलि गृहसँग अन्तिम परामर्श गरेपछि मात्रै सार्वजनिक गर्छौैँ”, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि आजको भर्चुअल छलफलमा अनौपचारिक कुराकानी मात्र भएको र बाँकी निर्णय भोलि हुने बताए।
काठमाडौं उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि भोलि राति १२ बजे सकिँदैछ। उपत्यकामा ४ भदौदेखि निषेधाज्ञा जारी छ। कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको थियो।
यद्यपि, अहिले पनि उपत्यकामा संक्रमण भने घटेको छैन। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिएका छन्।