देशभर आईसीयूमा १२७ र भेन्टिलेटरमा १७ जना कोरोना संक्रमितको उपचार हुँदै
मुलुकमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गर्दा १४४ जना सिकिस्त बिरामीको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका आईसीयूमा १२७ जना र भेन्टिलेटरमा १७ जनाको उपचार भइरहेको छ।
आईसीयूमा उपचार भइरहेकाहरूमध्ये प्रदेश-१ मा ४ जना, प्रदेश-२ मा २९ जना, बागमती प्रदेशमा ७५ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश-५ मा १३ जना गरी १२७ जनाको उपचार भइरहेको छ। त्यस्तै बागमती प्रदेशमा १४ जना र प्रदेश- ५ मा ३ जना गरी १७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ६९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५ पुरुष र ३४४ महिलामा संक्रमण देखिएको हो।
योसँगै देशभर संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। यसमध्ये २२ हजार १७८ निको भएका छन्।
गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ छ। सात हजार २८० जना होम आइसोलेसनमा छन् भने १० हजार ८३२ जना संस्थागत आइसोलेसनमा छन्। पछिल्लो २४ घण्टामा ७६८ जना निको भएका छन्।
देशभर क्वारेन्टिनमा रहनेको संख्या सात हजार ३९० रहेको मन्त्रालयका प्रवक्ता, गौतमले बताए। पछिल्लो २४ घण्टामा १२ हजार ८८ नमूनाको पीसीआर परीक्षण गरिएको उनले बताए।