तुइन विस्थापनको कथा : अझै प्रयोगमा छन् १४ तुइन, तिनैले लिंदैछन् ज्यान
२०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्नासाथ दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने घोषणा गरेका केपी शर्मा ओली अहिले दोस्रो कार्यकालमा प्रधानमन्त्री छन्। तर, पाँच वर्ष बितिसक्दा पनि १४ वटा तुइन प्रयोगमै छन्।
गएको १९ साउनमा लमजुङको दोर्दी गाउँपालिका-६, सिमगाउँकी २५ वर्षीया फूलमाया गुरुङ दोर्दी खोलामा रहेको तुइन चुँडिएर बेपत्ता भइन्। उनको अवस्था अहिलेसम्म पनि थाहा छैन। फूलमायासँगै तुइन चुँडिएर खसेका १७ वर्षीय विकास घले सामान्य घाइते भए।
चालु आर्थिक वर्ष २०७७/७८ शुरू भएयता तुइन दुर्घटनाको यो पहिलो घटना भने होइन। त्यसअघि ६ साउनमा तुइनबाट खसेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१, लालझाडीका ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको थियो। ६ साउन साँझ राप्ती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए।
तुइन दुर्घटनामा वर्षभरि कति क्षति हुन्छ भन्ने यकिन तथ्यांक प्रहरीसँग छैन। “तुइन दुर्घटनाका के कति घटना भए भन्ने यकिन तथ्यांक हुँदैन। यसलाई भवितव्य शीर्षकमा दर्ता गरिन्छ”, प्रहरी प्रवक्ता, एसएसपी कुवेर कडायतले भने, “समग्रमा भवितव्यमा मृत्यु सम्बन्धी मात्र तथ्यांक अभिलेख हुन्छ।”
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २५ असोज २०७२ मा दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने निर्णय गरेका थिए। ओली नै २०७४ फागुनदेखि दोस्रो कार्यकालमा प्रधानमन्त्री छन्। उनले दुई वर्षभित्र तुइन विस्थापन गर्ने निर्णय गरेको पनि पाँच वर्ष भइसकेको छ। तर, अझै पनि देशभर १४ वटा तुइन चलिरहेका छन्।
यथार्थ यस्तो भए पनि तुइन विस्थापन सम्बन्धी काम हेरिरहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख कुमार थापा भने देशमा तुइन बाँकी छन् भन्ने मान्न समेत तयार छैनन्। भन्छन्, “खास तुइन अब कतै पनि छैनन्, पहिचान भएकामध्ये १२९ वटा विस्थापित गरेर झोलुङ्गे पुल बनिसकेका छन्, बाँकी निर्माणाधीन अवस्थामा छन्, ती पनि सबै तुइन होइनन्।”
उनले अहिले प्रयोगमा रहेका भनिएका तुइन खासमा तुइन नै नभएको जिकिर गरे। नदी वा खोलामा पानीको बहाव नाप्न वा अन्य प्रयोजनका लागि बनाइएका ती तुइनलाई समेत मानिसले प्रयोग गर्दा दुर्घटना निम्तिने गरेको उनको दाबी छ। यद्यपि, तिनलाई पनि विस्थापन गर्ने काम हुँदैछ।
देशभरका नदी तथा खोलामा नयाँ झोलुङ्गे पुल निर्माण र पुराना पुलहरूको मर्मतका लागि चालु आर्थिक वर्षमा रू.५ अर्ब २ करोड ६३ लाख विनियोजन गरिएको छ। तीन तहकै सरकारबाट कार्यान्वयन गरिने योजनामा संघीय सरकारले सबैभन्दा बढी, रू. २ अर्ब ९५ करोड ३ लाख खर्च गर्नेछ।
लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले पनि १९ साउनमा फूलमाया दुर्घटनामा परेको तुइन पनि वास्तविक तुइन नभएको दाबी गरे। गुरुङले भने, “निर्माणाधीन मन्दिरको सामान ओसार्न बनाइएको तुइनबाट उनीहरूले खोला तर्न खोज्दा दुर्घटना भयो, त्यो मानिस आवतजावत गर्न बनाइएको होइन।”
नजिकमा खोला तर्ने पुल नभएकाले यस्तै तुइन प्रयोग गर्नुपर्ने बाध्यता छ। त्यहीकारण फूलमाया दुर्घटनामा परिन्। फूलमायाकी छिमेकी समेत रहेकी दोर्दी गाउँपालिका-६ की वडा सदस्य उषा गुरुङ विकास र फूलमायाले सँगै तुइन तर्न खोज्दा दुर्घटना भएको बताउँछिन्। “एक/एक जना गरेर आउजाउ त गर्थे तर, विकास भाइ र फूलमाया सँगै जान खोजेपछि दुर्घटना भयो”, वडा सदस्य गुरुङले भनिन्, “छेउतिर परेर विकास बाँचे, फूलमाया बीच खोलामै परिछन्।”
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार, १९ साउनमा तुइन दुर्घटना भएको ठाउँ नजिक र अन्यत्र गरेर दोर्दी खोलामा तीन वटा पुल बन्दैछन्। यसका लागि रू. ५८ लाख ६५ हजार बजेट विनियोजन पनि भएको छ। तर, कोरोनाभाइरस संक्रमणको महामारी शुरू भएपछि जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण काम अगाडि बढ्न सकेको छैन।
सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख थापा पनि तुइन विस्थापन कार्यमा बन्दाबन्दी र निषेधाज्ञाले ठूलो असर गरेको बताउँछन्। गत आर्थिक वर्षमै सक्नुपर्ने धेरै काम यही कारण थाती रहेको उनको भनाइ छ। झोलुङ्गे पुल निर्माणका लागि चाहिने सामग्री ढुवानी हुनसकेको छैन।
“धेरैजसो काम बन्दाबन्दी र ढुवानीको समस्याले गर्दा रोकिएका छन्। कतै कतै ठेकेदारको पनि लापरवाही देखिन्छ। उनीहरूलाई हामीले कारबाही गरेका छौँ।”-कुमार थापा, याेजना प्रमुख, सस्पेन्सन ब्रिज डिभिजन
थापाका अनुसार, नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा चार, कर्णाली नदीको बुंगारघाटमा एक, सुर्खेतको भेरी नदीमा दुई, कालीगण्डकी नदीको मक्कुफाँटमा एक, बझाङको इकुलबारेमा एक र हुम्लामा चार वटा झोलुङ्ले पुल निर्माणको काम रोकिएको छ। कर्णाली नदीमा निर्माण गर्नुपर्ने झोलुङ्गे पुलमा भने ठेकेदारले लापरवाही गरेपछि ब्यांक ग्यारेन्टी रोक्का गरिएको उनले बताए। बझाङको इकुलबारेमा भने बन्दाबन्दीकै बीच पनि हेलिकप्टर मार्फत सामग्री ढुवानी गरिएको छ।
“धेरैजसो काम बन्दाबन्दी र ढुवानीको समस्याले गर्दा रोकिएका छन्। कतै कतै ठेकेदारको पनि लापरवाही देखिन्छ। उनीहरूलाई हामीले कारबाही गरेका छौं”, थापाले भने। मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा तुइन विस्थापनको काम गरिरहेको जनाएको छ। थापाले जाजरकोटमा पनि तुइन बाँकी रहेको खबर आएको भन्दै त्यसबारे पनि बुझिने बताए।
मन्त्रालयले देशभरका नदी तथा खोलामा नयाँ झोलुङ्गे पुल निर्माण र पुराना पुलहरूको मर्मतका लागि चालु आर्थिक वर्षमा रू.५ अर्ब २ करोड ६३ लाख विनियोजन गरेको छ। तीन तहकै सरकारबाट कार्यान्वयन गरिने योजनामा संघीय सरकारले सबैभन्दा बढी, रू. २ अर्ब ९५ करोड ३ लाख खर्च गर्नेछ।
तुइन हटाउन वडाध्यक्षकै अवरोध
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ को राप्ती र सामरी खोला दोभानमा रहेको तुइन हटाउन वडाध्यक्ष सविन न्यौपानेले मानेनन्। विद्यार्थी र किसानलाई आवतजावतमा समस्या हुने भन्दै उनले अर्को विकल्प तयार गरेर मात्र तुइन हटाउन भन्दै ७ असोज २०७६ मा यातायात पूर्वाधार निर्देशनालय, हेटौंडालाई पत्राचार गरेका थिए। त्यसको अघिल्लो दिन ६ असोजमा निर्देशनालयले तुइन हटाउन सहयोग गरिदिन भन्दै वडाध्यक्ष न्यौपानेलाई पत्र लेखेको थियो।
६ साउनमा तुइनबाट खसेर ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएपछि भने अहिले उक्त तुइन हटाइएको छ। तुइन भएको स्थानबाट लगभग २०० मिटरको दूरीमा यसअघि नै झोलुङ्गे पुल बनिसकेको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख थापाले बताए।
“सबै ठाउँमा जहाँनेर तुइन हुन्छ त्यहींनेर पुल बनाउन सकिंदैन, भौगोलिक अवस्था पनि हेर्नुपर्छ”, थापा भन्छन्, “पुल बनिसकेपछि तुइन हटाउन वडाध्यक्षसँग सहयोग मागिएको हो। तर, मान्नुभएन। अहिले दुर्घटना भएपछि भने तुइन हटाइएको छ।”