धमाधम कोरोना संक्रमित हुँदै खेलाडी, बीमा समेत नहुँदा झन् बढ्यो चिन्ता
कोरोना संक्रमणको जोखिमबीच अभ्यासलाई निरन्तरता दिएका राष्ट्रिय जर्सी लगाउने खेलाडी बीमा समेत नहुँदा असुरक्षित र उपेक्षित महसूस गर्दैछन्।
राष्ट्रिय टोलीको प्रशिक्षण शुरु गर्नका लागि गरिएको परीक्षणमा केही दिन पहिले एक जना फूटबल खेलाडीमा कोरोनाभाइरस संक्रमण देखियो। त्यसभन्दा पहिले नै स्क्वासका प्रशिक्षक हीरा थापालाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको थियो।
विस्तारै यो संख्या बढ्दै गएको छ। अहिले खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी समेत गरेर कम्तीमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यसमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध खेलाडीदेखि नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसम्म छन्।
राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीहरुमा एकपछि अर्कोमा संक्रमण देखिन थालेपछि आफ्नो स्वास्थ्य र सुरक्षामा चासो नदिइएको भन्दै खेलाडीहरु असन्तुष्ट बनेका छन्। खेलाडीको कोरोना बीमा गरिदिनुपर्ने आवाज जोडतोडले उठ्न थालेको छ। कम्तीमा राष्ट्रिय जर्सी लगाएर मैदानमा उत्रने खेलाडीका निम्ति कोरोना बीमा अनिवार्य गरेर मनोबल खस्कन नदिन पहल गर्नुपर्ने माग खेलाडीहरुले गरिरहेका छन्।
ब्याडमिन्टन खेलाडीहरु बन्दाबन्दीका बेला कभर्डहलमा प्रशिक्षण गर्दै ।
तर, नेपाली खेलकुदको कार्यकारी निकाय मानिने राष्ट्रिय खेलकुद परिषद भने सरकारको नीतिगत कठिनाइलाई अघि सारेर खेलाडीलाई ढुक्क बनाउने काममा हच्किइरहेको छ।
असुरक्षित खेलाडी
टेबलटेनिसकी नम्बर एक खेलाडी नविता श्रेष्ठलाई त्रास र असुरक्षाको भावना बढिरहँदा ‘खेलाडी देशका गहना’ भन्ने भनाइ खुबै याद आइरहेको छ। “खेलाडीलाई त देशको सद्भावना दूत नै भनिन्छ नि” उनी भन्छिन्, “तर कोरोना संक्रमणले खेलाडीको जीवन नराम्ररी प्रभावित भइरहेका बेला न सुरक्षाको व्यवस्था छ, न हाम्रो स्वास्थ्यबारे केही योजना नै ल्याइएको छ।”
खेलकुद यस्तो क्षेत्र हो, जहाँ खेलाडीहरु अभ्यास विना रहनै सक्दैनन्। अभ्यास नगरेर निष्क्रिय हुनासाथै खेलाडीको क्षमतामा ह्रास आउँछ। त्यसले उनीहरुको करिअर नै बर्बाद हुनसक्छ।
त्यसैले पनि कोरोनाभाइरस संक्रमणको त्रासका माझ गरिएको बन्दाबन्दीका बेला खेल क्षेत्र ठप्प नै भए पनि खेलाडी भने थुनिएर बस्न सकेनन्। विभिन्न खेलका संघहरुले वातावरण मिलाए। विस्तारै उनीहरु प्रशिक्षणमा फर्किए। सँगसँगै उनीहरुमा स्वास्थ्यमा जोखिम पनि बढ्दै गयो। र, खेलाडीहरुको कोरोना बीमा गरिनुपर्ने आवाज सँगसँगै उठ्यो।
टोकियो ओलम्पिक २०२१ को तयारीलाई बन्दाबन्दीबीच पनि जारी राखेकी कराते खेलाडी अनु अधिकारीका अनुसार प्रशिक्षणमा संक्रमणबाट बच्ने सम्पूर्ण उपाय अपनाइए पनि कहीं कतै केही नमिलेको जस्तो हुने गर्छ। अनु भन्छिन्, “प्रशिक्षणमा हामी सबै स्वास्थ्यमा सतर्क हुन्छौं। फेस मास्क लगाएरसम्म खेल्थ्यौं। तर, मनमा कता कता डर भने भइरहन्छ। ढुक्क हुन नसकिने।”
खेलाडीमा निर्धक्क हुने वातावरण निर्माणका लागि कम्तीमा कोरोना बीमा अनिवार्य गर्नुपर्ने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ बताउँछन्। श्रेष्ठ भन्छन्, “खेलाडीहरु जति सुरक्षित भएर अभ्यास गर्ने गरे पनि जोखिम त रहन्छ नै। त्यसैले बीमाले उनीहरुलाई सुरक्षा मात्र दिंदैन, डर भगाउँछ र ढुक्कसँग खेल्न सघाउँछ।”
संक्रमण बढ्न थालेपछि केही खेल संघहरुले भने खेलाडीको कोरोना बीमा गर्न थालेका छन्। कतिपय खेलका खेलाडीले पनि बीमाको लागि प्रायोजक पाएका छन्।
जस्तो कि, अखिल नेपाल फूटबल संघले प्रारम्भिक प्रशिक्षणमा बोलाएका ३४ जना खेलाडीकै बीमा गर्याे। नेपाल क्रिकेट संघले शुरुमा पुरुष खेलाडीको बीमा गर्याे। आलोचना बढ्न थालेपछि महिला राष्ट्रिय टोलीका सदस्यहरुको पनि बीमा गरेको छ।
टोकियो ओलम्पिकको तयारीका लागि बन्दाबन्दीमा सुरक्षा सामग्री लगाएर प्रशिक्षण गर्दै करातेका नविन रसाइली र अनु अधिकारी। दुबै १३ औं सागका स्वर्ण विजेता हुन्।
एक निजी संस्था लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले भलिबलका पुरुष र महिला राष्ट्रिय टोली तथा राष्ट्रिय विच भलिबल टोलीको समेत कोरोना बीमा गरिदिएको छ। नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले राष्ट्रिय टोलीमा आवद्ध खेलाडी र प्रशिक्षकको बीमा गरिदिएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठ भन्छन्, “सके परिषद आफैंले, नसके सम्बन्धित संघहरुलाई कम्तीमा राष्ट्रिय खेलाडीहरुको कोरोना बीमा गर्न आदेश दिनुपर्छ। अब यत्तिकै हेरेर बस्नु हुन्न।”
परिषदको अप्ठेरो कि अलमल?
राष्ट्रिय खेलकुद परिषद्ले भने सरकारी नीति कागजमा सीमित हुँदा बीमा गर्न अलमल भइरहेको तर्क गर्दै आएको छ।
परिषद्का अनुसार यो वर्षको बजेट भाषणमा सरकारले गरेको निजामती कर्मचारीको बीमा गरिदिने घोषणाभित्र परिषदका सबै कर्मचारी तथा विभागीय टोली (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना)का खेलाडी समेत पर्छन्। राष्ट्रिय खेलाडीको ठूलो संख्या विभागीय टोलीमै छ।
परिषद्का सदस्य सचिव रमेश सिलवाल यही कारण सरकारले गर्ने बीमा कार्यान्वयन पर्खने वा आफैं बीमा गर्ने भन्ने दोधारमा परेको बताउँछन्। उनी भन्छन्, “एकातिर सरकारले बजेट भाषणमै सम्पूर्ण निजामती कर्मचारीको बीमा गर्ने घोषणा गरेको छ, अर्कोतिर बीमा भएको पनि छैन। खेलकुद मन्त्रालय वा खेलकुद परिषदमा पनि बजेट छुट्याइएको छैन। हामीले अर्थ मन्त्रालयमा पत्राचार गरेका छौं, जवाफ पर्खिरहेका छौं।”
तर खेलाडी संघका अध्यक्ष श्रेष्ठ भने विभागीय खेलाडीबाहेक अरु खेलाडीको बीमा गर्न परिषद्लाई कुनै अप्ठेरो नभएको बताउँछन्।
विभागीय खेलाडीहरुको प्रणाली भने भिन्नै छ। नेपाल पुलिस क्लबको खेलकुद एकेडेमी प्रमुख रहिसकेका राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह ड्युटीमा खटिएका बेला कुनै पनि प्रहरीको बीमा स्वतः हुने बताउँछन्। तर, कोरोना बीमाका रुपमा भने प्रहरीका खेलाडीको बीमा नगरिएको उनको भनाइ छ। शाह भन्छन्, “प्रहरीमा राष्ट्रिय टोलीमा रहेका झन्डै ३०० खेलाडी छन्। उनीहरुको छुट्टै बीमा गरिएको छैन। तर फूटबल, भलिबल टोलीमा रहेका प्रहरी खेलाडीको बीमा संघले नै गरिदिएको छ। यो स्वागतयोग्य छ।”
खेलाडीको स्वास्थ्य सुरक्षामा अहिलेसम्म दुई चारवटा संघले मात्र चासो देखाएका छन्। बाँकी खेलाडीका लागि भने परिषद् र संघ कसैको पनि चासो देखिएको छैन।