कोरोना संक्रमणबाट पूर्व मुख्य न्यायाधीश चालिसेको मृत्यु
पूर्व मुख्य न्यायाधीश माधवप्रसाद चालिसेको कोरोनाभाइरस संक्रमणबाट ७० वर्षको उमेरमा मृत्यु भएको छ।
मुटुसम्बन्धी रोगबाट पीडित चालिसेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ। मुटु रोगको उपचारका लागि पाँच दिनअघि अस्पताल भर्ना भएका उनलाई परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो।
२५ असार २०७० मा ६३ वर्षे उमेरहदका कारण चालिसेले तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश पाएका थिए।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी चालिसेका श्रीमती, एक छोरा र तीन छोरी छन्।
न्यायाधीश चालिसेका भाइ कृष्ण चालिसले आज बिहानै सात बजे उनको निधन भएको बताए। न्यायाधीश चालिसेलाई १० भदाै राति २ बजे अस्पताल पुर्याइएको थियो। त्यसै दिन उनलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि परिवारका सबै सदस्य होम आइसोलेसनमा बसेको पनि कृष्णले जानकारी दिए। पाँच भाइको परिवार एउटै कोलोनीमा बस्दै आएका थिए।
काठमाडौं महानगरपालिका-३ का अध्यक्ष दीपक केसीले नेपाली सेनाले चालिसेको शव व्यवस्थापन गर्ने बताए। यसका लागि आफूले समन्वय गरिरहेको बताउँदै उनले भने, “काठमाडौं उपत्यकामा पाँच जनाको शव व्यवस्थापन गर्नुपर्ने रहेछ। केही समय लाग्छ भनेका छन्। केही समयमा सेनाको टोलीले व्यवस्थापन गर्छ।”