आज इन्द्रजात्रा, रथयात्रा स्थगन भएपछि पूजा गरेर मनाइँदै
आज काठमाडौं उपत्यकामा मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइँदैछ। यो दिन जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा हुने परम्परा छ। तर, यस पटक कोरोनाभाइरस संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण रथयात्रा स्थगन भएपछि पूजा मात्र गरेर मनाइँदैछ।
इन्द्रजात्रामा राष्ट्रपतिले प्रत्यक्ष उपस्थित भएर पूजा गर्ने प्रचलन रहेकोमा रथयात्रा नहुने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प पूजा ल्याएर देवताको घरघरमा पूजा गर्ने तयारी रहेको गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। "संकल्प पूजाका लागि पूजा सामग्री लिन आज अपराह्न ३ बजे इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारी र गुठी संस्थान काठमाडौं शाखाका पदाधिकारी राष्ट्रपति कार्यलय जाने तयारी छ", उनले भने।
इन्द्रजात्रा विधिवत् रुपमा मनाउँदा अझै केही दिन भए पनि आजै मुख्य दिन भएकाले सामान्य पूजा गरेपछि यस वर्षको इन्द्रजात्रा लगभग सकिने सुवेदीले बताए।
कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि धार्मिक तथा सांस्कृतिक जात्राहरु पूजामा सीमित भएका छन्।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा शुरु हुन्छ। लिङ्गो ठड्याइएपछि वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गर्ने प्रचलन छ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोक, दोलखा लगायत स्थानमा मनाइन्छ। यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।