बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्दा एक जनाको मृत्यु
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ पानीधारामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काठमाडौंबाट बिरामी लिएर सर्लाही फर्कंदै गरेको ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।
मृत्यु हुनेमा सर्लाहीको वरहथवा-२ का १५ वर्षीय बादे रानामगर छन्। दुर्घटनाका घाइते भएका रानामगरको उपचारका क्रममा चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
चालकसहित अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए।