हेटौंडाका कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु
चितवन मेडिकल कलेजमा उपचाररत एक जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-१५ का ५८ वर्षीय पुरुष छन्।
मेडिकल कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार, ज्वरो र खोकी लाग्ने समस्याका कारण १४ भदौमा अस्पतालमा भर्ना भएका ती पुरुषलाई १५ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आईसीयूमा उपचार जारी रहेको अवस्थामा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
यससँगै चितवनमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १७ पुगेको छ। यसमध्ये चितवनका ९ जना, मकवानपुरका ४ जना, बारा, गोरखा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १/१ जना छन्। चितवनमा ७३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।