महोत्तरीमा तेस्रोपटक थपियो निषेधाज्ञाको अवधि
कोभिड-१९ संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ। १० भदौमा दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि गए राति सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक साता थप गरेको छ।
हिजो थपिएको निषेधाज्ञाको अवधि २२ भदौसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गरेको आदेशमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि लागू हुनेगरी १ भदौमा १० दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो। यद्यपि, त्यसअघि पनि २१ साउनमा नै जिल्ला सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिका–३ र ५ मा निषेधाज्ञा जारी थियो।
निषेधाज्ञाबीच नै संक्रमितको संख्या ह्वात्तै बढेको छ। महोत्तरीमा कोरोनाभाइरसबाट १० जनाको मृत्यु भइसकेको छ। तीमध्ये आठ जनाको मृत्यु भदौमा नै भएको हो। हिजो दुई जनाको मृत्यु भएको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ।
हिजो साँझसम्म ११९ महिला र एक हजार १२४ पुरुषसहित एक हजार २४३ जनामा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये सात जनामा हिजो नै पुष्टि भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए। भदौयता १५ दिनमा जिल्लामा २३४ नयाँ संक्रमित थपिएका छन्।