हराइरहेका पूर्व राजदूत रिचर्ड मोरिसको खोजीमा संलग्न प्रहरीले फेला पार्याे शव
नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको खोजीमा संलग्न प्रहरी अधिकारीले एक शव फेला पारेका छन् ।
शव मोरिसकै हुनसक्ने प्रहरीको दाबी छ।
बेलायती समाचार संस्थाहरुका अनुसार शव ह्याम्पसायरस्थित एलिस होल्ट जंगल नजिक फेला परेको हो ।
मोरिसलाई अन्तिमपटक गत ६ मेमा अल्टनस्थित इस्लिङ्टन रोडमा दौडिरहेको देखिएको थियो ।
५२ वर्षीय मोरिस बेन्ट्लेस्थित आफ्नो घरबाट बिहान १०ः३० मा कसरतका लागि निस्केका थिए ।
समाचारका अनुसार, मोरिसको मृत्यु शंकास्पद नभएको प्रहरीको प्रारम्भिक ठहर छ ।
“मृत शरीरको औपचारिक पहिचान हुन बाँकी नै छ । तर, मोरिसको परिवारलाई खबर गरिसकिएको छ । र, उनीहरुले विज्ञ अधिकृतहरुलाई सहयोग गरिरहेका छन्”, प्रहरीको भनाइ छ ।
मोरिस सन् २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालका लागि बेलायती राजदूत थिए ।
मोरिस नेपालमै रहँदा सन् २०१६ मा बेलायती राजकुमार ह्यारीलगायत विशिष्ट बेलायती व्यक्तित्वको भ्रमण सम्भव भएको थियो ।
सन् २०१५मा नेपालले भोगेको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा पनि उनले विशेष योगदान दिएका थिए । मोरिस नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरप्रति चिन्तित देखिन्थे ।
आफ्नो कार्यकालमा जनस्तरमा सम्बन्ध बनाएका कुटनीतिज्ञ मोरिस प्रकृतिप्रेमी थिए ।
नोभेम्बर ६ २०१९ मा नेपालबाट अन्तिम ट्वीट गर्नु एक दिन अघि मोरिसले नेपालको संस्कृति, खानेकुरा, खासगरी बफ कोथे मोमो आफूलाई स्वादिष्ट लागेको बताउँदै प्राकृतिक सौन्दर्य र सबभन्दा बढी मित्रवत् नेपालीहरुले मोहित पारेको लेखेका थिए ।
*सम्पादित