प्रदेश–१ का मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि
प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार साँझ आएको स्वाब रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्री घिमिरेलाई पखाला लाग्ने र ज्वरो समेत आएपछि कोरोना परीक्षण गरिएको थियो। मन्त्री घिमिरे निवासमै उपचारत छन्। मन्त्री घिमिरेमा संक्रमण देखिएपछि परिवार र सचिवालयका सदस्यहरुको समेत स्वाब संकलन गरिएको मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
आजै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि प्रदेश–२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई पनि संक्रमण भएको थियो भने पर्साकै सांसद प्रदीप यादवमा संक्रमण देखिएको थियो।
सोमबार थपिएको सहित ३९ हजार ४६० संक्रमित हुँदा बागमती प्रदेशका उपसभामुख, प्रदेश–१ र प्रदेश–५ का प्रदेशसभा सदस्यमा पनि संक्रमण पुष्टि भएको छ। सोमबारसम्म संक्रमणबाट २२८ जनाको मृत्यु भइसकेको छ।