कोभिड—१९ महामारी रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विशेष सम्मान गरिने
बारबरा फाउन्डेसनले कोभिड—१९ महामारीबाट उत्पन्न महासंकटमा अग्रपंक्तिमा खटिएका देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई विशेष सम्मान प्रदान गर्ने भएको छ ।
फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा महामारी रोकथाममा उत्कृष्ट योगदान गर्ने स्वास्थ्यकर्मीमध्ये एक चिकित्सक र एक नर्सलाई विशेष सम्मानसहित जनही दुई/दुई लाख रुपैंयाँ प्रदान गर्ने जनाइएको छ ।
सुरक्षाकर्मीको हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका एक÷एक जनालाई जनही एक/एक लाख रुपैंयाँले सम्मानित गरिने छ ।
विज्ञप्तिमा चिकित्सक तथा नर्सहरुको छनोटका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा.भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा. लोचन कार्की र नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला श्रेष्ठ सम्मिलित निर्णायक समिति समेत गठन गरेको जनाइएको छ ।
यस्तो विशेष सम्मान स्वास्थ्यकर्मीका अलावा कोरोना रोग नियन्त्रणमा कार्यरत चिकित्सा सम्बन्धी संस्थालाई पनि प्रदान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
फाउन्डेसनको यो सानो प्रयासले संकटको घडीमा कार्यरत चिकित्सक, नर्स र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन मद्दत गर्न सक्ने पनि विज्ञप्तिमा भनिएको छ ।
फाउन्डेसनका अध्यक्ष रुइतले महामारीमा धैर्य र संयमतापूर्वक विश्व स्वास्थ्य संगठन र सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्दै आफू, परिवार र समुदायलाई सुरक्षित राख्ने अभियानमा सरिक हुन समेत आग्रह गरेका छन् ।
“यस क्षणमा म नेपाली जातिले सनातनदेखि पालना गर्दै आएको प्रेम, सद्भाव, सम्मान र करुणालाई वास्तविकतामा प्रकट गर्ने बेला आएको संस्मरण समेत गराउन चाहन्छु”, रुइतले भनेका छन् ।