कोरोना अपडेट: यी हुन् काठमाडौं महानगरमा ५० जनाभन्दा बढी संक्रमित भएका ठाउँ
कोरोना संक्रमणको हटस्पट बनेको काठमाडौं महानगरमा पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ। त्यसमध्ये पनि केही सीमित क्षेत्रमा कोरोना संक्रमितको संख्या ५० जना भन्दा माथि रहेको छ।
काठमाडौं महानगरपालिकाको १४ भदौसम्मको तथ्यांक अनुसार वडा नम्बर ३२ को कोटेश्वर वरपरको क्षेत्रमा सबैभन्दा बढी १९८ जना कोरोना संक्रमित छन्। यो निको भएका, कोरोना कारण मृत्यु भएका र सक्रिय संक्रमित सहितको कुल तथ्यांक हो।
काठमाडौं महानगरका कोभिड फोकलपर्सन ज्ञानेन्द्रबहादुर ओलीका अनुसार कोटेश्वरपछि वडा नम्बर ३ को महाराजगञ्ज क्षेत्र वरपर १८० जना कोरोना संक्रमित छन्। काठमाडौं महानगरपालिका-३ मा त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगायतका ठूला अस्पताल छन्।
पछिल्ला दिनहरूमा यी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूमा पनि संक्रमण देखिएपछि त्यो क्षेत्रमा बढी संक्रमित भेटिएको ओलीले बताए।
काठमाडौं महानगरपालिकाका अनुसार कोरोना संक्रमितको संख्या वडा नम्बर २७ को महाबौद्ध तथा असन क्षेत्रमा १४० जना, वडा–१३ कालीमाटी क्षेत्रमा ११८ जना र वडा–१४ को कंलकी क्षेत्रमा ११७ जना छन्।
१४ भदौ सम्ममा बागबजार क्षेत्रमा १०१ जना, बालाजुमा १६० जना र वडा–४ को धुम्बाराहि क्षेत्रमा १०० जना कोरोना संक्रमित रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाको तथ्यांक अनुसार स्वयम्भुमा ६५ जना, वडा–११ को त्रिपुरेश्वर क्षेत्रमा ७० जना, वडा–७ को मित्रपार्क क्षेत्रमा ७५ जना र बानेश्वरमा ८९ जना कोरोना संक्रमित छन्।
काठमाडौं महानगरको १४ भदौसम्मको तथ्यांक अनुसार कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ। महानगरपालिकाका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओली सोमबार उपत्यकामा भेटिएका कोरोना संक्रमितको ठाउँ अनुसारको तथ्यांक मंगलबार मात्र आइपुग्ने बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा हरेक दिन कोरोना संक्रमितहरूको संख्या बढिरहेको जनाएको छ। मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म मुलुकभर कोरोना संक्रमित हुनेहरूको कुल संख्या ३९४६० पुगेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यीमध्ये काठमाडौं जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४५२२ पुगेको छ। १५ भदौको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका जिल्लाहरूमध्ये काठमाडौंमा सबैभन्दा बढी १९० जना कोरोना संक्रमित भेटिएका छन्।