राष्ट्रियसभामा जान वामदेव गौतम तयार: सचिवालय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामेदव गौतमले राष्ट्रियसभामा जान तयार भएको बताएका छन्। उपाध्यक्ष गौतमले आफ्नो सचिवालयसँग आफू राष्ट्रियसभा सदस्यमा मनोनित हुन तयार भएको बताएका हुन्।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार, राष्ट्रियसभाको रिक्त पदमा जान तयार भएका हुन्। “पार्टीको संस्थागत निर्णय मान्न तयार हुनुहुन्छ। कार्यदलले पनि सरकारले पार्टीको निर्णयअनुसार निर्णय लिने सुझाव दिएको छ”, सुवेदीले भने।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने अडान लिँदै आएका छन्। १४ फागुनको सचिवालय बैठकले खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्ने निर्णय गरेको थियो।
सचिवालयको निर्णय विपरीत प्रधानन्त्री ओलीले अडान लिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो। तर, अहिले विवाद समाधान सुझाव प्रस्तुत गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्ष द्वय ओली र पुष्पकमल दाहाललाई बुझाइएको छ। उक्त प्रतिवेदनमाथि १८ फागुनमा बस्ने सचिवालयमा छलफल गरिँदैछ।
गएको २० फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको भएपनि खतिवडा अहिले अर्थ र सूचना, प्रविधि एवम् सञ्चार मन्त्री छन्। तर, खतिवडालाई राष्ट्रियसभामा पुनः मनोनित नगरे उनको पद स्वतः जाँदैछ।