काठमाडौं महानगर प्रमुख शाक्यलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। श्रीमतीको उपचारका लागि हिजो ग्राण्डी अस्पताल जाँदा स्वाब दिएका उनको आज ग्राण्डीले पोजिटिभ रिपोर्ट आएको जानकारी दिएको मेयर शाक्यले बताए।
हिमालखबरसँग कुरा गर्दै प्रमुख शाक्यले भने, "ग्राण्डीले रिपोर्ट पोजिटिभ आएको जानकारी गराएको छ। स्वाब दिएपछि घरमै थिएँ, अब केही दिन घरमै बसेर काम गर्छु। स्वास्थ्य समस्या छैन । पछिल्लो समय आइसोलेसन सेन्टर निमार्णका लागि छलफल गर्ने, ठाउँ हेर्ने काममा व्यस्त थिएँ। सतर्कता अपनाएको थिएँ तर कहाँबाट सर्यो भन्ने याद भएन।"
महानगर सबैभन्दा बढी जोखिममा भएकाले आफू घरमै आइसोलेसनमा बस्ने र भर्चुअल माध्यम तथा फोनबाट काम गर्ने उनले बताए। "स्वास्थ्य समस्या नभएकाले हिँड्ने कसैलाई भेट्ने बाहेकको काममा बाधा पर्दैन, सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमण हुँदो रहेछ। सकेसम्म घर भित्रै बस्नुस् भन्ने मेरो आग्रह छ", प्रमुख शाक्यले भने।
उनले कोरोना संक्रमण भयो भनेर लुकाउनु नपर्ने र नहुँने बरु आफूलाई भएपछि सबैलाई सचेत गराउनु नै उचित हुने उनको सुझाव छ।
यसअघि वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई पनि कोरोना संक्रमण भएर निको भइसकेका छन्। अहिलेसम्म अन्य आधा दर्जन गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा केही उपप्रमुखहरूलाई पनि कोराना संक्रमण भइसकेको छ।