एकाघर परिवारको लगानी भएका ब्यांक तथा वित्तीय संस्थाको 'फोर्स्ड मर्जर'को प्रकृया शुरू
ब्यांकहरूलाई एक आपसमा गाभिन बाध्य बनाउने नीतिअनुसार नेपाल राष्ट्र बैंकले 'फोर्स्ड मर्जर'को प्रक्रिया थालेको छ। केन्द्रीय ब्यांकले ब्यांक तथा वित्त कम्पनीहरूमा गत आर्थिक वर्षको असारसम्ममा कायम संस्थापक शेयरधनीको विवरण संकलन गरेको छ। यो विवरणको संकलनलाई फोर्स मर्जरको प्रकृया शुरू भएको रुपमा अर्थ्याइएको छ।
केन्द्रीय ब्यांकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य ब्यांकहरूलाई एकआपसमा गाभिन (मर्जर) का लागि बाध्यकारी बनाउने नीति सार्वजनिक गरेको थियो। मौद्रिक नीतिमा भएका व्यवस्थाहरूको कार्यान्वयनका लागि जारी गरिएको एकीकृत निर्देशनले एकाघर परिवारको स्वामित्व भएका ब्यांकलाई मर्जरमा जान बाध्य बनाउने उल्लेख गरेको थियो।
सोहीअनुसार, ब्यांक तथा वित्त कम्पनीसँग गत आर्थिक वर्षको असार मसान्तसम्मका सेयरधनीको विवरण पठाउन भनिएको थियो। राष्ट्र ब्यांकको निर्देशनअनुसार, ब्यांक तथा वित्तीय संस्थाले आफ्ना संस्थापक शेयरधनी र अन्तिम हिताधीकारीको विवरण राष्ट्र ब्यांकलाई बुझाएका छन्। केन्द्रीय ब्यांकले यो विवरणको अध्ययनपछि कुनै पनि ब्यांक तथा वित्तीय संस्थामा एकै परिवारले निश्चित सीमाभन्दा शेयर लगानी गरेको भेटिएमा फोर्स मर्जरमा जान निर्देशन दिने तयारी गरेको राष्ट्र ब्यांक स्रोत बताउँछ।
गत महिना सार्वजनिक गरिएको एकीकृत निर्देशनपश्चात राष्ट्र ब्यांकको ब्यांक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले हिमालखबरसँग कुरा गर्दै शुरूमा एकै समूहद्धारा प्रर्वद्धित ब्यांकहरूलाई आपसमा गाभिन प्रोत्साहित गरिने र नटेरेमा मर्जरका लागि बाध्य बनाइने बताएका थिए। उनले त्यसको कार्यान्वयनका लागि ब्यांकहरूमा भएको एकाघर परिवारको लगानीलाई गहिरो र सुक्ष्म तरिकाले अध्ययन गरिने बताएका थिए।
ठूला ब्यांकहरूको मर्जरको एजेण्डा गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नर भएको बेलादेखि नै अघि सार्दै आएका छन्। राष्ट्र ब्यांकमा डेपुटी गभर्नर भएका बेला पनि ब्यांकहरूको रु. दुई अर्बबाट बढाएर आठ अर्ब पुर्याउन अधिकारीले नेतृत्वदायी भूमिका खेलेका थिए। राष्ट्र ब्यांकको पूँजी वृद्धिको निर्णयपछि वाणिज्य ब्यांकहरूको संख्या ३२ बाट घटेर २७ मा ओर्लिएको थियो।
एकाघर परिवारको स्वामित्व भएका ब्यांक तथा वित्तीय संस्थालाई फोर्स मर्जरमा लैजाने नीति कार्यान्वयन भए दुई ठूला वाणिज्य ब्यांक हिमालयन र नेपाल इन्भेष्टमेन्ट एक आपसमा गाभिने छन्। हिमालयन र इन्भेष्टमेन्ट ब्यांक दुबैका मुख्य प्रबर्द्धक नजिकका नातेदार हुन्। हिमालयन ब्यांकका प्रबर्द्धक तथा प्रमुख सल्लाहकार हिमालय शमशेर राणा र इन्भेष्टमेन्ट ब्यांकका अध्यक्ष पृथ्वीबहादुर पाँडे पारिवारिक सम्बन्ध भएका नजिकका नातेदार हुन्। पाँडेको हिमालयन ब्यांकमा पनि लगानी छ। त्यस्तै, हिमालयन ब्यांकमा हिमालयका छोरा अशोक राणा प्रमुख कार्यकारी अधिकृत पदमा छन्। लक्ष्मी ब्यांकको मुख्य प्रबर्द्धक खेतान समूहको पनि हिमालयन ब्यांकमा लगानी छ।
राष्ट्र ब्यांकको नीति कार्यान्वयन भए एनआईसी एशिया र एनएमबी ब्यांक पनि आपसमा गाभिन बाध्य हुने सम्भावना छ। एनआईसी एशिया ब्यांकको मुख्य प्रबर्द्धक विशाल समूह हो। यो समूहको लगानी एनएमबी ब्यांकमा पनि छ। त्यस्तै, अर्को व्यवसायिक समूह सांघाईका प्रबर्द्धकहरुले दुबै ब्यांकमा लगानी गरेका छन्। त्यसैगरी, नेपाल बंगलादेश र एनसीसी ब्यांकमा पनि एउटै व्यवसायीक समूहको लगानी छ।
त्यसैगरी, सनराइज र सिद्धार्थमा पनि मारवाडी समुदायका पारिवारिक सम्बन्ध भएका प्रबर्द्धकको लगानी छ। राष्ट्र ब्यांकको निर्देशनअनुसार, यी ब्यांकहरू पनि एक–आपसमा मर्जरमा जानुपर्ने हुनसक्छ। तर, सरकारको शेयर स्वामित्व भएका नेपाल ब्यांक, राष्ट्रिय वाणिज्य ब्यांक तथा कृषि विकास ब्यांकको विषयमा के हुन्छ भन्ने प्रष्ट छैन।