भर्चुअल तेक्वान्दोमा मूलपानी च्याम्पियन, चितवन दोस्रो
मूलपानी तेक्वान्दो डोजाङ, ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ। तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदकसहित मूलपानी च्याम्पियन बनेको हो।
काठमाडौं जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित प्रतियोगितामा एक स्वर्ण, दुई रजत र एक कास्य पदकका साथ चितवन दोस्रो तथा एक स्वर्ण, एक रजत र एक कास्य पदकका साथ कैलाली तेस्रो भएको छ। प्रतियोगितामा कूल ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।
यस्तै, प्रतियोगितामा स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी मावि, नेपाल प्रहरी, नेपाली सेना र रूपन्देहीले एकएक स्वर्ण पदक प्राप्त गरेको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले बताए।
प्रतियोगितामा यु–१८ पुरुष एकलतर्फ १३औँ दक्षिण एशियाली खेलकुद (साग) का कास्य पदक विजेता अस्मिन राउतले स्वर्ण जिते। उनले ६ दशमलव ५३ अङ्क प्राप्त गरे। चितवनका अब्बास खानले ५ दशमलव ९६ अङ्कका साथ रजत तथा चितवनकै सागर बरालले ५ दशमलव ८३ अङ्क र कैलालीका लक्ष्मण श्रेष्ठले ५ दशमलव ६३ अङ्क प्राप्त गर्दै कास्य पदक जिते।
यस्तै, यु–१८ महिला एकलतर्फ नेपाली सेनाकी रोशनी श्रेष्ठले ६ दशमलव ५० अङ्क प्राप्त गर्दै स्वर्ण जितिन्। चितवनकी जैनब खातुनले ६ दशमलव २० अङ्कका साथ रजत तथा मूलपानीकी अस्मिता नगरकोटीले ६ दशमलव १३ अङ्क र सुनसरीकी सुदेशना गुरुङले ५ दशमलव ७६ अङ्क ल्याइ कास्य पदक प्राप्त गरे।
यसैगरी यु–३१ पुरुष एकलतर्फ नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूले ६ दशमलव ७३ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जिते। उनी १३औं सागको कास्य पदकधारीसमेत हुन्। सागका कास्य पदकधारी नेपाली सेनाका दीपेन्द्र गुरुङले ६ दशमलव ५० अङ्कका साथ रजत तथा मूलपानीका पुष्पप्रसाद गौतम ६ दशमलव २० अङ्क र दोलखाका नोर्बु मोक्तानले ५ दशमलव ९६ अङ्कका साथ कास्य पदक प्राप्त गरे।
यु–३१ महिला एकलतर्फ १३औं सागका स्वर्ण पदक विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो। सेनाकी निताले ६ दशमलव ७० अङ्कसाथ स्वर्ण तथा स्युचाटारकी सन्जिलाले ६ दशमलव ५६ अङ्कसाथ रजत प्राप्त गरिन्। सो स्पर्धामा मूलपानीकी चन्दु शाहीले ६ दशमलव १६ अङ्क र दाङकी सुनिता विष्टले ५ दशमलव ४३ अङ्क ल्याइ कास्य पदक प्राप्त गरिन्।
यसैगरी पुरुष ४१ वर्षमाथिको उमेर समूहमा मूलपानीका मधुसूदन सापकोटाले ५ दशमलव ९० अङ्क प्राप्त गर्दै स्वर्ण जिते। कैलालीका आशिष चन्दले ५ दशमलव ६० अङ्क ल्याई रजत तथा रूपन्देहीका विकास उदयले ५ दशमलव ४६ अङ्क र गैरीगाउँका सोभितमान गिरीले ५ दशमलव ४६ अङ्क ल्याई कास्य पदक प्राप्त गरे।
आयोजकका अनुसार प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता थियो। प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।