आइसोलेसनको बसाइः संक्रमितमा झन् डरलाग्दो छ मानसिक समस्या
कोरोना संक्रमित भएर अस्पतालको आइसोलेसनमा बस्नेहरूमा अलग्गै बस्नुपर्दाको पीडा र अनिश्चयको डरले मानसिक बेचैनी, तनाव जस्ता समस्या देखिए पनि यो पाटोमा ध्यान दिइएको छैन।
कोरोनाभाइरसको संक्रमण भएपछि काठमाडौंकी गीता थापा अहिले अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन्। खाद्यान्न पसल चलाउने उनलाई तीन दिनसम्म सामान्य ज्वरो आएपछि परीक्षण गर्दा पोजिटिभ देखिएको थियो। त्यसपछि डेरामै सेल्फ आइसोलेसनमा बस्न खोजेकी थिइन्। तर, घरबेटी वृद्ध उमेरकी भएकाले संक्रमणको जोखिमले उनलाई अस्पतालकै आइसोलेसनमा जान सुझाव दिइयो।
अस्पतालमा बस्नुपर्ने कुराले नै अत्यास लागेर उनी बिरामी जस्तै भइन्। “अस्पतालमा बस्नुपर्ने कुराले नै तनाव भइरहेको मलाई अस्पताल ल्याएपछि त बिरामी नै भएकी थिएँ। मनोपरामर्श लिनुपर्ने अवस्था आयो”, उनी भन्छिन्।
सामान्य ज्वरोको लक्षण देखिएकी उनलाई अस्पताल भर्ना भएपछि पखाला लाग्ने, रिंगटा लाग्ने भयो। चिकित्सकले बढी तनाव लिंदा यस्तो भएको बताएपछि उनका श्रीमानले आफ्नो मनोविद् साथी मार्फत फोनबाट नै मनोपरामर्श दिने व्यवस्था मिलाएका थिए।
मनोपरामर्शले आत्मबल बलियो हुँदै गएपछि अहिले भने सामान्य हुँदै गएको उनको भनाइ छ। भन्छिन्, “मान्छेलाई भाइरसले भन्दा मनको डरले खाँदो रहेछ भन्ने लाग्न थालेको छ।”
अहिले उनी नियमित व्यायाम गर्छिन्। यस्तै, मनोरञ्जनात्मक तथा प्रेरणादायी भिडिओ हेरेर समय बिताइरहेको उनी बताउँछिन्।
धरान उप–महानगरपालिका–९ की वडा सदस्य ऋचा शंकर पनि कोरोना संक्रमण भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा छिन्। केही दिनसम्म रुघाखोकी लागेपछि शंका लागेर जाँच गराउँदा पोजिटिभ देखिएको थियो।
उनलाई कोरोना संक्रमणको पुष्टि हुँदा स्वास्थ्य अवस्था सामान्य नै थियो। केही दिनमा निको भएर फर्कन्छु भन्ने मनोबलका साथ नै अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएकी थिइन्। तर जब अस्पतालमा बस्न थालिन्, आफन्त तथा साथीसँगीले फोन र सामाजिक सञ्जाल मार्फत लगातार सहानुभूति र सुझाव दिन थालेपछि भने उनमा मानसिक बेचैनी बढ्यो। उनले भनिन्, “पोजिटिभ देखिए पनि स्वास्थ्य अवस्था सामान्य थियो। तर आफन्त र साथीभाइ सबैले एकोहोरो रुपमा केही हुँदैन चिन्ता नलिनू, छिटो सन्चो हुनू भनिरहेपछि पो डर लाग्न थाल्यो।”
पछिल्ला दिनहरूमा भने उनले आफ्नो परिवार बाहेकको फोन उठाउन छोडेकी छिन्। आइसोलेसन वार्डमा दुई जना भएकाले मिलेर व्यायाम, सरसफाइ र कुराकानी गरेर दिन बितिरहेको उनले सुनाइन्।
आइसोलेसन कक्षमा भर्ना भएदेखि स्वास्थ्यकर्मी एक दिन पनि जाँच्न नआएको उनको गुनासो छ। “केही पर्यो भने कन्ट्रोल रुमबाट फोन गर्नु भनेका थिए, तर फोन गर्दा उठ्दैन”, उनले भनिन्। अस्पतालको बेवास्ताले भने केही समस्या आए उपचार नपाइने हो कि भनेर डर लाग्न थालेको बताउँछिन्।
विराटनगरका पत्रकार कमल रिमाल संक्रमणको पुष्टि भएपछि स्वास्थ्य चौकीको आइसोलेसनमा भर्ना भए। दोस्रो चरणको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि अहिले उनी डिस्चार्ज भएर होम क्वारेन्टिनमा छन्।
रिमालले आफू संक्रमित भएको सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए। त्यसपछि उनलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न, मनोबल उच्च बनाउन आफन्त तथा साथीभाइको फोन आउन थाल्यो।
आइसोलेसनमा भर्ना भएपछि लगातार ज्वरो, खानामा अरुचि, शारीरिक कमजोरीले गलाउँदै लगेको थियो। फोन निरन्तर आइ नै रह्यो। फोनमा संक्रमण कसरी सर्यो, कहाँ गएको थियौ, कोसँग भेटेको थियौ जस्ता प्रश्न सोधिन्थ्यो। उनी भन्छन् “फोनले त तनाव नै दियो। अफ गरुँ भने परिवारलाई चिन्ता होला भन्ने पीर, नगरुँ त मोबाइल एकोहोरो बजिरहने।”
त्यसपछि उनले मोबाइलमा सेभ नभएका र ल्यान्डलाइन नम्बरबाट आएका फोन उठाउन छोडे। सेभ भएका नम्बरहरुबाट पनि त्यस्तै प्रश्न आउन थालेपछि घरपरिवारको मात्रै फोन उठाए।
उनी बसेको आइसोलेसनमा अरु संक्रमित पनि थिए। तर, अरुको तुलनामा उनको स्वास्थ्य भने बिग्रेको थियो। साथीहरुसँग कुराकानी र ठट्टा गर्दै, इन्टरनेट चलाउँदै मन बहलाएर दिन काट्न त सजिलो थियो, तर राति भने निद्रा नलाग्ने भएपछि निकै गाह्रो भएको रिमाल बताउँछन्।
शिथिल भए पनि मनमा नकारात्मक भावना आउन नदिन इन्टरनेटमा व्यस्त भएर, आत्मबल दह्रो बनाएर बसेको उनले बताए। भन्छन्, “जति कोशिश गरे पनि कहिलेकाहीं त कोरोनासँग हार्छु कि झैं लाग्थ्यो। तर, फेरि उति नै वेला आत्मबल दह्रो बनाएर मैले जित्नुपर्छ भन्ने सोच आउँथ्यो। त्यसैको नतिजाले संक्रमणमुक्त भएर अहिले घरमा छु।”
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. रवि शाक्य कोरोनाभाइरस संक्रमितहरुमा मनोवैज्ञानिक त्रास हुने बताउँछन्। विभिन्न मुलुकमा आइसोलेसनमा बस्ने संक्रमितको मानसिक अवस्थाबारे अध्ययन भए पनि नेपालमा अहिलेसम्म समग्रमा अध्ययन नभएको उनले बताए।
पाटन अस्पतालमा उपचाररत संक्रमितको आधारमा कुरा गर्दै उनले भने “अस्पतालको आइसोलेसनमा बस्ने संक्रमितमा लक्षण सामान्य भए पनि अलग्गै बस्नुको पीडा र भोलि के हुने हो भन्ने डर देखिन्छ।”
होम आइसोलेसनमा केही सहज
पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण प्रसाद रौनियार कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा छन्। त्यसपछि उनको घरपरिवारका सबैको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो।
दीर्घरोगी र पाको उमेरका व्यक्तिहरुलाई भाइरसले गाह्रो बनाउँछ भन्ने सुन्दै आएका रौनियार आमा–बुवासहित परिवारका सबैलाई संक्रमण भएपछि आत्तिए। किनभने उनका ६५ वर्षीय बुवामा मुटुसम्बन्धी समस्या छ। अरुमा कुनै लक्षण नदेखिए पनि बुवालाई सामान्य ज्वरो देखियो। अस्पताल भर्ना गर्ने विषयमा कुरा हुँदा सबै जनालाई संक्रमण भएकाले भौतिक दूरी काम गरेर घरमै बस्ने निर्णय भएको उनले बताए। “बुवा र केटाकेटीलाई के होला भनेर निकै आत्तिएको थिएँ। तर, अहिले सबै सामान्य छौं”, उनले भने।
सबै जना घरैमा भएकाले मानसिक तनाव हुनबाट जोगिएको उनको भनाइ छ। आपसमा गफ र हँसीमजाक गरेर बस्ने गरेकाले कुनै समस्या नभएको उनले बताए। परिवारसँग बसेर गफगाफ गर्ने, किताब पढ्ने र फोनबाट नगरको अवस्था बुझ्ने गरेको उनले बताए।
पोखरिया नगरपालिकामा १० वटा वडा छन्। तीमध्ये ६ वडाका वडाध्यक्षमा कोरोना संक्रमण देखिएको छ। वडा नम्बर ७ का वडाध्यक्ष नन्दलाल कट्टेल पोखरिया अस्पतालको आइसोलेसनमा छन्। वडाध्यक्षलाई नै कोरोना संक्रमण पुष्टि भएपछि सर्वसाधारण धेरै आत्तिएका थिए। उनले भने, “काम गर्ने क्रममा जनताको बीचमा जाँदा कतिपयसँग नजिकको सम्पर्क भयो। उनीहरुलाई फोन गरेर सम्झाएँ। तर, उनीहरुको हतासपनले साह्रै तनाव भएको थियो।” अहिले भने माहाेल सामान्य भएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए।
प्रा.डा. शाक्यले अस्पतालको आइसोलेसनमा बस्नेहरूमा भने विभिन्न मानसिक समस्या देखिन सक्ने बताए। आइसोलेसनमा बस्दाबस्दै अन्य व्यक्तिको स्वास्थ्यमा अचानक समस्या देखिएपछि संक्रमित थप आत्तिने र त्यसले मनोवैज्ञानिक असर पुर्याउने गरेको शाक्यले बताए। त्यस्तो अवस्थामा पाटन अस्पतालले मनोचिकित्सकबाट मनोपरामर्श दिने गरिरहेको उनले बताए।
उनका अनुसार, संक्रमितको उपचारमा संलग्न डाक्टर तथा नर्सहरुले पनि बिरामीहरुको मनोवैज्ञानिक अवस्था बुझेर मनोचिकित्सकहरुलाई जानकारी गराउने गरेका छन्।
प्रा.डा. शाक्यले संक्रमितहरुका लागि टिभी, वाईफाई, नियमित व्यायाम गर्ने सुविधा दिने पहल गरेकोमा अहिले इन्टरनेट मात्रै कार्यान्वयन भएको बताए। वाईफाई मात्रै राख्दा पनि परिवारसँग नियमित भर्चुअल कुराकानी हुने र विभिन्न मनोरञ्जनात्मक भिडिओ हेर्न सकिने भएकाले संक्रमितको मन बहलाउन धेरै मद्दत पुगेको उनले बताए।