महोत्तरीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु
महोत्तरीको मनरा शिश्वा नगरपालिका–४ का एक जना स्वास्थ्यकर्मीको कोरोना सक्रमणका कारण मृत्यु भएको छ। आफ्नै घरमा निजी क्लिनिक सञ्चालन गर्दै आइरहेका उनको ९ भदौमा कोरोना संक्रमणका कारण ज्यान गएको हो।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद मण्डलका अनुसार मृतक स्वास्थ्यकर्मीका एक छोरा र एक छोरी छन्। उनका अनुसार ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई एम्बुलेन्समा राखेर ९ भदौमा काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
मृत्युभएपछि उनलाई काठमाडौंको निजी प्रयोगशाला सुरिया हेल्थ केयरमार्फत स्वाब संकलन गरेर परिक्षण गरिएको थियो।
उनको शव १० भदौमा महोत्तरी फकाइएको थियो। त्यसैदिन उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मण्डलले बताए।
१० भदौमा नै नगरपालिकाले ती स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको भन्ने बारेको विवरण जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीमा पठाएको थियो।
यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मीको कोरोना कारण मृत्यु भएको विवरण नआएको बताए। “महोत्तरीमा स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको भन्ने सुनेका छौँ। तर हामीकहाँ यसबारे औपचारिक जानकारि आएको छैन”, डा. पाण्डेले भने।
कोरोनाका कारण मनरा शिसवा नगरपालिका–४ का स्वास्थ्यकर्मीको मृत्यु भएपछि नगरपालिले उनको सम्पर्कमा पुगेका परिवारका सदस्यसहित ७८ जनाको स्वाब संकलन गरेर १२ भदौमा जनकपुरमा रहेको प्रदेश प्रयोगशालामा कोरोना जाँचका लागि पठाएको छ।
नगरपालिकाले परिक्षणका लागि पठाएका ७८ जनाको रिपोर्ट अहिलेसम्म आइनसकेको जनाएको छ।
कसरी सर्यो संक्रमण ?
मनरा शिसवा नगरपालिका–४ का मृतक स्वास्थ्यकर्मीको परिमारमा उनका दाइ कोरोना संक्रमित भएका थिए। महोत्तरीकै बलवा नगरपालिकामा निजी क्लिनिक संञ्चालन गर्दै आएका उनका दाइ काम गर्ने क्रममा कोरोना संक्रमित भएका थिए।
कोरोना संक्रमित दाइलाई महोत्तरीबाट जनकपुरस्थित अस्पतालमा ल्याउने र लैजाने काम उनैले गरेका थिए। दाइ सिकिस्त बनेपछि उनले काठमाडौंको एक अस्पतालको आईसीयूमा भर्ना गरेर घर फर्किएका थिए।
घर फर्किए लगत्तै उनलाई श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या देखिएको थियो। मनरा शिश्वा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद मण्डलका अनुसार ती मृतकलाई उनका दाइबाट कोरोना सरेको देखिएको छ।
उनका अनुसार मृतक स्वास्थ्यकर्मीकी श्रीमतिलाई पनि कोरोना संक्रमण देखिएको छ। उनको पनि काठमाडौंकै एक अस्पतालको आईसीयू कक्षमा भर्ना गरेर उपचार भइरहेको छ।
स्वास्थ्य शाखा प्रमुख मण्डलले महोत्तरी जिल्लामा भेन्टिलेटरसहितको उपचार गर्ने सुविधा नभएका कारण संक्रमितलाई काठमाडौं वा अन्य जिल्ला लैजानुपर्ने बाध्यता रहको बताए।
मृतक स्वास्थ्यकर्मी सिकिस्त बनेपछि शुरूमा जनकपुर अस्पताल लगिएको थियो। तर जनकपुरका चिकित्सकले उपचारका लागि काठमाडौं रेफर गरेका थिए। काठमाडौं लिनेक्रममा उनको बाटोमा मृत्यु भएको हो।