आरक्षमा घर बनाउन आउनेलाई अश्रु ग्यास
सप्तरीमा पर्ने कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न आएका सयौ मानिस नियन्त्रणका लागि प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
कञ्चनरुप नगरपालिका १ वैरवा नजीक आरक्षको खालि जमिनमा घर बनाउन भन्दैं विभिन्न जिल्लाबाट आएका करीब पाँच सय मानिस आएका थिए।
प्रहरीका अनुसार, जग्गा खाली गर्न घण्टौँसम्म सम्झाउँदा पनि नमानेपछि अश्रु ग्यास प्रहार गरेको हो।
घटनामा मङ्गोलियन नेशनल अर्गनाइजेशनका शक्ति चाम्लिङ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले अर्गनाइजेशनका प्रदेश २ का इञ्चार्ज भनिएका राईकै अगुवाइमा सुकुम्बासी बस्ती बसाउन मानिस ओरालिएको थियो ।
राईले सरकारले जग्गा बाँडिरहेको भ्रम फिजाएको हल्ला फैलाएर मानिस जम्मा गरेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
बस्ती बसाउने आशामा आएको समूहले घर बनाउन चाहिने सामग्री, दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्याससहित बालबच्चा लिएर आएका थिए ।