काठमाडौं उपत्यका वरपर ५ लाख पर्यटक राख्ने पूर्वाधार तयार पार्न निर्देशन
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरी पाँच लाख पर्यटक राख्न मिल्ने पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन्।
मन्त्रालयमा आज, १५ भदाैमा भएको नेपाल पर्यटन बोर्डका निर्देशकहरूसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी घुम्न निस्कन उक्त पूर्वाधार आवश्यक भएको बताए। मन्त्री भट्टराईले पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधारका रूपमा पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन उपज तयार गर्ने गरी सम्भावनाको अध्ययन तत्काल गरेर मन्त्रालयमा प्रतिवेदन पेश गर्न पनि निर्देशन दिए।
मन्त्री भट्टराईले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न पनि निर्देशन दिएका छन्। पर्यटन बोर्डलाई सातवटा भाषा; नेपाली, हिन्दी, चाईनिज अरबी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न उनले आग्रह पनि गरे।
पर्यटन बोर्डका पदाधिकारीहरूलाई कोभिड-१९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै विश्व सम्पदा, हिमाल, ट्रेकिङ सिमसार, म्युजियम, निकुञ्ज लगायतका भर्चुअल टुरको सामाग्री तयार गर्न मन्त्री भट्टराईले निर्देशन दिएको पर्यटन मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।