'अहिले म धेरै खुशी छु'
महामारी अनि अनियमित महीनावारीसँग संघर्ष गरिरहेकी मलाई यो बेला योग, जीवनदर्शनका कक्षाहरूले जीवनशैली बदल्न सघाएका छन् ।
जुलाई २०१९ मा ३६ वर्ष लागेकी थिएँ र म मेरो पहिलो महीनावारी भएको दुई दशकपछि ‘महीनावारी अपवित्र हुँदैन भनेर मलाई विश्वास गर्न कति गाह्रो लाग्ने गर्दथ्यो’ भनेर लेख लेखिरहेकी थिएँ।
नेपालको नेवार हिन्दू परिवारमा हुर्कंदा मैले के कुरा स्वीकार गरें भने महीनावारी भनेको फोहोर हो। महीनावारीसँग जोडिएका विभिन्न प्रतिबन्धहरू नेपाली महिलाहरूको मनमा बसेका छन् । महीनावारीकै कारण काठमाडौंमै भएको नजिकैको नातेदारको विवाह मैले टाढैबाट हेरेर चित्त बुझाउनु परेको थियो ।
छाउपडीको अभ्यास अन्तर्गत मासिक रूपमा महिलालाई छाउगोठमा राखिनु यो अन्धविश्वासको चरम रूप हो तर केही शिक्षित र सम्पन्न परिवारमा समेत नछुने आजसम्म पनि आम रूपमा अभ्यास गरिन्छ ।
कसैलाई लाग्ला कि अमेरिकामा बसेर, दह्रो आत्मबल र सकारात्मक दृष्टिकोण भएका महिलाहरूलाई प्रेरणा मानेर महीनावारी सम्बन्धी मेरो व्यवहारमा परिवर्तन आउनुपर्ने हो, तर ममा यस्तो भएन ।
मेरो मस्तिष्कमा महीनावारीप्रतिको विश्वास यस्तरी गढेको रहेछ कि औषधि पसलमा ट्याम्पन किन्न जाँदा मलाई अझै पनि असहज महसूस हुने गर्दछ। नछुने भएका चार दिनमा म तीन हिन्दू भगवानलाई अझै पनि धूप बाल्ने गर्छु। महीनावारी हुँदा रुद्राक्षको माला पनि लगाउँदिनँ।
२०१९ को अन्त्यतिर मैले महीनावारी नियमित होस् भनेर खान निर्देशित गरिएका हर्मोनहरू नखाने विचार गरें– र, मेरो महीनावारी बन्द भयो ।
जुलाई २०१९ देखि जुलाई २०२० सम्म मेरो जीवनमा धेरै कुरा परिवर्तन भयो । कोभिड–१९ ले पूरै विश्वलाई सन्त्रासमा राखेको बेला ममा चिडचिडाहट, छटपटी अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो । यो सबै महीनावारी बन्द हुनुको कारण पनि थियो । र, यसलाई नियन्त्रण गर्न केही न केही त गर्नै पर्छ भन्ने लाग्यो ।
नेपालमा रहेकी मेरी एक साथी सद्गुरुको भक्त थिइन् । जीवनबारे उनको दृष्टिकोणलाई म सधैं प्रशंसा गर्थें। जस्तोसुकै तनावपूर्ण परिस्थितिमा पनि उनी शान्त र शालीन हुन्थिन् ।
सिकागोको जाडो कष्टकर र नैराश्यपूर्ण हुनेगर्छ, त्यही भएर मैले सद्गुरुको ‘इनर इन्जिनियरिङ’ किताब किन्ने निधो गरें। म यूट्यूबमा उनको रिस, चिडचिडापन र करुणा सम्बन्धी भिडियोहरू सुन्न थालें ।
मार्चदेखि मैले योग गर्न शुरू गरें, सबैकी प्रिय एड्रियन मिश्लर (योग विथ एड्रियन) सँग – दिनमा जम्मा १० मिनेटको लागि भए पनि । सद्गुरु भन्छन्— अनुशासन नियन्त्रण होइन, तर जे गर्नुपर्ने हो त्यसको बोध गर्नु हो । त्यसकारण पनि मलाई योग चाहिएको थियो ।
मे २०२० मा मैले सदगुरुको ‘इनर इन्जिनियरिङ’ सकें । योग एवं जीवनशैलीका परिवर्तनहरूले मेरो जीवन नै परिवर्तन गरिदियो ।
मार्चदेखि मेरो पुनः मासिक महीनावारी हुन थाल्यो। पहिला हर्मोनहरू विना नियमित हुँदैनथ्यो । तर, अहिले त्यस्तो छैन ।
फेब्रुअरीदेखि मेरो ढुकढुकी दर पनि कम भएको छ । मेरा चिकित्सकका अनुसार, यसको अर्थ अहिले मेरो शरीर शान्त गतिमा आरामका साथ चलिरहेको छ ।
समयक्रममा ममा आरामका साथ सुत्ने, निद्रा पुगेको महसूस भई उठ्ने र फेरि सुत्न मन नलाग्ने हुन थालेको छ । मलाई पहिले जुन कुराहरूले चाँडै रिस उठ्थ्यो अहिले त्यस्तो हुन थालेको छ । सहजै झर्को लाग्ने र निराश बनाउन छोडेको छ ।
मेरो ऊर्जा र उत्साह दिनभर उस्तै हुन थालेको छ । परिवार, साथीहरू र काम पहिले जस्तो तनावपूर्ण लाग्दैन । महामारी बाहेक मेरा जीवनका परिस्थितिहरू खासै परिवर्तन भएका छैनन्, तर भित्रभित्रै वर्षौं गरे जस्तो सङ्घर्ष गर्नुपरेको छैन ।
म अहिले बढी नै सावधानी अपनाउँछु । स्वाद भन्दा आफ्नो शरीरलाई फाइदाजनक खानेकुरा खान्छु । शरीरलाई अझ राम्ररी ख्याल राखिरहेकी छु ।
अरू मानिसहरूलाई परिवर्तन गराउने प्रयास नगरी उनीहरूसँगका मेरा मतभिन्नतालाई म स्वीकार गर्दछु । यसको मतलब यो होइन कि अहिले म क्रोध र ईष्र्याका समस्याहरूसँग संघर्षरत छैन, तर म ती भावनाहरू बारे हत्तपत्त प्रतिक्रिया दिनुभन्दा सुझबुझका साथ प्रस्तुत हुने प्रयास गर्दछु ।
म मानिसहरूलाई उनीहरू जस्तो छन् त्यस्तै रहन दिन थालेकी छु र अगाडि बढ्ने ऊर्जा आफूमा केन्द्रित गर्न थालेकी छु । म यो कुरा स्वीकार्छु कि मानिस तब मात्र परिवर्तन हुन्छन् यदि उनीहरू परिवर्तन हुन चाहन्छन् ।
म भविष्य बारे चिन्ता लिएर बसिराख्दिनँ । म जस्तो बनिरहेकी छु, त्यसमा खुशी छु ।
शरीरविज्ञान प्राकृतिक पाटो भएकोले महीनावारीसँग म अझै संघर्ष गर्छु होला । तर योग, मार्गनिर्देशन, सद्गुरु, जीवन परिवर्तन र प्राप्त खुशी प्राप्त गर्न सक्छौं, त्यसको प्रमाण म नै हुँ । जे आइपर्छ त्यसलाई सामना गर्न म अझ सक्षम छु । म पलपलको आनन्द लिइरहेकी छु ।