पवन गिरीको ‘काठमाडौंको साढे सात’ सार्वजनिक
गायक पवन गिरीको ‘काठमाडौंको साढे सात’ म्यूजिक भिडिओ सार्वजनिक भएको छ। सामान्य अवस्थामा काठमाडौंको अव्यवस्थित सडक, भीडभाड, धुँवाधुलोले मानिसको दैैनिकीलाई गाह्रो बनाएको थियो।
अहिले कोरोनाभाइरसको महामारीले काठमाडाैंको जनजीवन शून्यप्राय: छ। निषेधाज्ञापछि अत्यावश्यक बाहेक सबै सवारी सञ्चालनमा प्रतिबन्ध छ। मानिसहरू जथाभावी घरबाट निस्किन पाएका छैनन्। भीडमाड छैन। यद्यपि, यसले पनि मानिसको दैनिकी अप्ठ्यारो बनेको छ। त्यसको एउटै कारण काठमाडौंलाई ‘साढे सातको दशा’ लागेको भन्ने गीत र म्यूजिक भिडिओमा देखाइएको गायक गिरीले बताए ।
उनी आफैं पनि यो गीतको लागि म्यूजिक भिडिओ खिच्ने क्रममा स्कुटरबाट लडेर घाइते भएका थिए। हातमा चोट लागेको बताउँदै गायक गिरीले भने “यो सबै हुनुमा काठमाडौंलगायत हामी सबैलाई साढे सातको दशा लागेको रहेछ भनेर देखाउन खोजिएको छ।”
गायकले आफ्नै युट्युव च्यानल पवन गिरीबाट म्यूजिक भिडिओ सार्वजनिक गरेका छन्। रम्बो अधिकारीको शब्द रहेको गीतमा कल्याण सिंह र गायक पवनले संगीत भरेका छन्।
गीतको एरेन्ज सम्राट न्यौपानेले गरेका छन् भने राज पोखरेलले खिचेको म्यूजिक भिडिओलाई प्रतिक ढुंगेलले सम्पादन गरेका हुन्। यो म्यूजिक भिडिओको परिकल्पना सुजय गौतमको रहेको छ।