सिङ्गो गाउँ व्यावसायिक बाख्रापालनमा
७० वटा बाख्रा पालेका तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्छन् ।
सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पालेकी छन् । उनको आम्दानी वार्षिक रु पाँच लाखभन्दा बढी छ ।
बाख्रापालनबाटै अर्का किसान खिमबहादुर थापाले त्यही हाराहारीमा आम्दानी गर्छन । उनका ४० वटा बाख्रा छन् ।
शिवकुमार, श्रीमाया र खिमबहादुर जस्तै पाथर्दीमा बाख्रा पालेर मनग्गे आम्दानी गर्ने ६० घरधुरी छन् । परम्परागत रुपमा मात्रै बाख्रापालन गर्दैआएका यहाँका अधिकाँश कृषकले २०७१ सालदेखि व्यावसायिक बने ।
घटीमा १० र बढी ७० वटा बाख्रा पालेका कृषकको आम्दानीको मुख्य स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण छ ।
सब–ओभरसियर पढेर पनि व्यावसायिक रुपमा बाख्रापालन गरेका शिवकुमार आलेले गाउँमै बसेर पशुपालनमार्फत गाउँलाई नमूना बनाउने अठोट गरेको बताए ।
२०६८ सालदेखि बाख्रापालन शुरु गरेका उनका हाल ५५ वटा बोयर र स्थानीय जातको बाख्रा रहेका छन् ।
बाख्रापालनका लागि १५ हजार भन्दा बढी घाँसका विरुवा रोपेका छन् । अन्न फल्ने खेतबारीमा बाख्राका लागि घाँसखेती गर्दा कमैले मात्रै उत्प्रेरणा प्रदान गरेको उनको भनाइ छ ।
उनी अहिले जिल्लाकै नमूना बाख्रापालक कृषकको रुपमा परिचित छन् । “पहिला–पहिला त गाउँमा बसेर के पशुपालन गरेको ? विदेश जाउ पनि भन्थे तर, अहिले मेरो सफलता देखेर अन्य मानिसले समेत हौसला दिने गरेका छन् ।”
साना किसान लघुवित्तमार्फत १० महिना इजरायल बसेर फर्केपछि उनले पशुपालनको क्षेत्रमा थप कुराहरु सिक्ने अवसर पाएको बताए ।
किसानहरुले व्यावसायिक बाख्रापालनका लागि लाखौं खर्चिएर सुधारिएको खोर निर्माण गरेका छन् । खोरमा बाख्राका लागि खेल्ने छुट्टै ठाउँ, दाना ख्वाउन, पाठापाठी राख्न, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएको छ ।
बाख्रापालनका लागि उनीहरुले किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी र भुईघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्री र मोलाटो जातका घाँसखेती गरेका छन् ।
निर्वाहमुखी बाख्रापालनले आम्दानी नहुने थाहा पाएपछि व्यावसायिक रुपमा नै बाख्रापालनलाई अगाडि बढाइएको श्रीमायाले बताइन् । “पहिला–पहिला बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान नै थिएन । मकैमा मल हाल्नको लागि मात्रै बाख्रा पाल्थ्यौं त ”, उनले भनिन् ।
अहिले २६ वटा बोयर जातको बाख्रा पाल्नुभएका उहाँले बाख्रालाई खुवाउन किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी र भुईघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्रि र मोलाटो जातका घाँसखेती समेत गर्नुभएको छ ।
बाख्रापालनबाट उनलाई वार्षिक चार लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ ।
भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापा बाख्रापालनमा यस ठाउँलाई नमूना बनाउने सोच रहेको बताउँछन् ।
“जिल्लाकै नमूना बाख्रापालन गाउँको रुपमा पहिचान बनाउन सकिए यस ठाउँलाई पर्यटकीय हिसाबले समेत उजिल्याउन सकिन्छ ”, उनले भने ।
वडाध्यक्ष थापाले बाख्रापालक कृषकलाई वडाको तर्फबाट गर्न सकिने सबै प्रकारका सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनाए ।