‘सरकार, काम गर्न दिने कि भोकै मार्ने?’
९ चैतमा रमा बोहरा (४२) ले ऋण लिएर तरकारी बेच्ने ठेलागाडा खरीद गरिन्। हरेक दिन तरकारी बेच्न सके महीना दिनमै ठेलागाडाको ऋण चुक्ता गर्ने उनको योजना थियो।
तर, यस्तो भएन। दुई दिनपछि अर्थात् ११ चैतदेखि कोभिड–१९ का कारण देशभर बन्दाबन्दी घोषणा गरियो। बोहरा ठेलागाडा लिएर बाहिर निस्कन नपाउने भइन्।
त्यसयताका चार महीना रमालाई ऋण तिर्न, परिवार पाल्न र डेरा भाडा तिर्न ठूलो सकस पर्याे।
सरकारले गएको महीना बन्दाबन्दी केही खुकुलो पार्ने निर्णय गर्याे। रमा फेरि आफ्नो ठेलागाडा लिएर तरकारी बेच्न थालिन्। दुई छोराकी आमा एकल महिला उनलाई अब भने सरकारले बन्दाबन्दी नगर्ला र जसोतसो बढिरहेको ऋण भए पनि तिरौंला भन्ने थियो।
तर, यो सहजता लामो समय रहेन। सरकारले काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित बढेको भन्दै पुनः अनिश्चितकालीन निषेधाज्ञा जारी गर्यो। उनको ठेलागाडा फेरि चल्न छाड्यो ।
“टिनको छानामुनि बसेका छौं, दुई छोरा छन्, म एक्लै छु” रमा भन्छिन्, “सरकार काम गर्न पनि दिंदैन, हाम्रो हेरचाह पनि गर्दैन, हामी कसरी बाँच्ने ?”
यही बाध्यताले रमा अहिले निषेधाज्ञाका बाबजूद तरकारी बेच्न सडकमा निस्कन थालेकी छन्। उनलाई कोरोनाभाइरसको डर छैन भन्ने होइन, तर यो वाहेक उनीसँग विकल्प पनि छैन। सरकारले पनि त उपाय सुझाएको छैन।
“काम नगरे छोराछोरी भोकै पर्छन्, कि सरकारले खान देओस्, कि काम गर्न”, उनकाे प्रष्ट जवाफ छ ।
तस्वीरहरू: