डा. गोविन्द केसी र मैलो मनको उपचार
केही वर्ष पहिला जाजरकोटमा ‘हेलिकोप्टर हैजा पर्यटन’ चलिरहँदा डा. गोविन्द केसी खच्चडलाई औषधिको भारी बोकाएर उकालो उक्लिरहेका थिए। अहिले पनि औषधि बोकेर दुर्गम पुगेका उनी प्रहरी घेराबन्दीमा छन्।
सर्वसाधारणले सहज उपचार पाउनुपर्छ भन्ने डा. गोविन्द केसीको अडान दुर्गमको स्वयंसेवी यात्रामार्फत प्रकट हुन्छ। पिंढी र अँगेनाको छेउमा निशुल्क चल्ने ‘निजी क्लिनिक’ मार्फत प्रकट हुन्छ। आमरण अनशनमार्फत पनि प्रकट हुन्छ।
तर, डा. केसीको निष्ठा राज्यका लागि आतंक समान भएको छ। विकट गाउँहरुमा स्वयंसेवी बनेर पुगेका उनलाई बारम्बार अपमानित गरिएको नमीठो खबरले पत्रपत्रिका र डिजिटल पत्रिकाहरु भरिएका छन्। विभिन्न शक्तिकेन्द्रको आदेश र दबाबमा स्थानीय जनप्रतिनिधिले नै उनलाई निषेध गरेको खबर आइरहेको छ।
यसरी अवरोध गरिंदा उनको चित्तमा चोट त लागेको छ नै, दूरदराजका नागरिकहरु अकल्पनीय रुपमा पाइन लागेको विशेषज्ञ सेवाबाट पनि बञ्चित भएका छन्। राज्यले उपलब्ध गराउनुपर्ने सेवाबाट बञ्चित नागरिक खोज्न हिंड्ने डाक्टरलाई रोक्नु अमानवीय र अराजक काम हो।
जुम्लामा होटलमै घेराबन्दी गरिएको खबरले देशमा अराजकताको विकेन्द्रीकरण भएको महसूस हुन्छ। उनलाई रोकेर बहादुरी देखाउने र माथि रिपोर्ट बुझाएर स्याबासी बटुल्ने अराजक खेल शुरु भएको महसूस हुन्छ।
डा. केसीले कैयौं ठाउँमा नागरिक र जनप्रतिनिधिको न्यानो माया पाएका छन्। धेरैको सफल उपचार गरेका छन्। तर, अहिले कैयौं दिन हिंडेर दुर्गममा उपचार गर्न रोकिएको खबर यो समयको सबैभन्दा कुरुप चित्र हो। जता डाक्टर, उता अवरोधको खबर कोरोनाभाइरसको चित्रमा देखाइएको काँडाजस्तै महसूस हुन्छ।
डा. केसीको आचरण सबै सामु छर्लङ्ग छ। उनको सीप, निष्ठा, लगन, इमान्दारी, विज्ञता, सादा जीवन र प्राज्ञिक क्षमतामाथि प्रश्न उठाउने हैसियत उनकै विरोधीहरुले पनि बनाएका छैनन्। महात्मा गान्धीका धेरै कथा सुनेका हाम्रा लागि केसीले गान्धीकै झल्को मेटाउँछन्।
डा. केसीको दुर्गम यात्रासँगै राज्यको असफलताका कैयन चित्रहरु बाहिर आउँछन्। स्वास्थ्य संस्थाहरुको जराजीर्ण अवस्था बाहिर आउँछ। राज्य त्यो चित्र हेर्ने रहर गर्दैन।
कसैले श्रद्धापूर्वक दिएको एक कप चियासमेत खान्न भन्ने स्वाभिमानी हत्पति भेटिंदैन। श्रद्धापूर्वक दिनेको चित्तमा ठेस लाग्ला कि भनेर गाउँमा जाँदा चिया, पानी, खाजा, खान्न भन्न नवआगन्तुकलाई त्यति सहज हुँदैन। तर डाक्टर केसी त्यसो गर्ने हैसियत राख्छन्।
आपतविपद् आउनासाथ औषधिको भारी बोकेर देशका उकाली—ओरालीमा भेटिन्छन्। तर, उनको स्वयंसेवा देश चलाउनेहरुको लागि काँडाजस्तो किन बन्छ? आफ्नै स्वास्थ्यचौकीमा आएका विशिष्ट विशेषज्ञबाट केही कुरा सिक्न स्वास्थ्यकर्मी किन बञ्चित हुन्छन् ?
दूरदराजको केही दिनको बसाइमा त्यहाँका स्वास्थ्यकर्मीले हाडजोर्नी उपचारबारे केही कुरा सिक्न पाउँछन्। सीपको त्यो उज्यालोले पछिसम्म धेरैको जीवनमा चहक थप्छ। उनलाई खेद्न खोज्नेको हातखुट्टा केही भैहाले जोडिने ग्यारेन्टी पनि उनको उपस्थितिले गर्छ। तर, स्थानीय विकासको जिम्मा पाएका गाउँ र नगरपालिकाका जनप्रतिनिधि नै किन खेद्न मरिहत्ते गरिरहेछन्?
यसको अर्को पाटो पनि छ। डा. केसीको दुर्गम यात्रासँगै राज्यको असफलताका कैयन चित्रहरु बाहिर आउँछन्। स्वास्थ्य संस्थाहरुको जराजीर्ण अवस्था बाहिर आउँछ। राज्य त्यो चित्र हेर्ने रहर गर्दैन।
नेपाली समाज ‘पाप’ र ‘धर्म’ को खुबै हिसाबकिताब राख्छ। औषधोपचार एकादेशको कथा बनेको विकट भूगोलमा एउटा प्रबुद्ध डाक्टरलाई अपमानित गर्दा कस्तो ‘धर्म’ कमाइन्छ कुन्नि?
बुझ्नै पर्ने विषय भनेको डा. केसी कुनै पार्टीको विरोध वा समर्थन गरिरहेका छैनन्। उनको प्रश्नसँग भुइँमान्छेको स्वास्थ्यको पहुँच जोडिएको छ। थिति बसाउने चाहना छ।
तर, केन्द्रलाई खुशी पार्ने नाममा उपचारमा अवरोध पुर्याउनु निन्दनीय छ। स्वयंसेवी डाक्टरलाई निर्वाध रुपमा सेवा गर्ने मौका दिनु र स्थानीय स्वास्थ्यकर्मीलाई उनीबाट सिक्ने मौका दिनु जनप्रतिनिधिको कर्तव्य हो।
स्थानीय जनप्रतिनिधिले आत्ममन्थन गरी मनको मैलो पखाल्नु जरुरी छ। मैलो मन लिएर राजनीति गर्न सकिंदैन। केन्द्रले गलत आदेश दिएमा ‘नाई’ भन्नसक्ने हैसियत बनाउनुपर्छ।
मनको मैलो पखाल्न हिम्मत गर्ने स्थानीय जनप्रतिनिधिको जय होस्।