कोरोना संक्रमितबाट त्रस्त समाज : सहज बनाउन जुटे युवा
कोराेना संक्रमणबाट मुक्त भएर घर फर्किएकाहरूका लागि राज्यस्तरबाट कुनै पहल नभएपछि स्थानीय युवा समूह र राजनीतिक दलका कार्यकर्ताले सहजीकरणका लागि पहलकदमी लिएका छन्। प्रदेश–१ को राजधानी विराटनगरमा कोरोनाको संक्रमण फैलिएर समाजमा त्रास फैलिन थालेपछि स्थानीय आफैं सहजीकरण गर्न सक्रिय भएका हुन्।
संक्रमणमुक्त भए पनि समाजमा घुलमिल हुन नसकिरहेकाहरूलाई घरमा गएर हौसला दिने, घर निर्मलीकरण गर्ने काम विराटनगर ८ नम्बर वडाबाट पहिलोपटक शुरु भएको छ। अहिले केही युवाले मृत्यु भएकाहरूको शव व्यवस्थापनमा पनि सहजीकरण गर्न थालेका छन्।
बरगाछी युवा समूहले कोरोना संक्रमित भई मृत्यु भएका व्यक्तिको शव ब्यवस्थापनमा सहयोग गरेर ५ जना युवा अतिथि सदनमा क्वारेन्टिन बसेका छन्। समूहका अगुवा दीपक चापागाईका अनुसार, केही दिनअघि विराट अस्पतालमा मृत्यु भएका एक जनाको शव युवाहरूले सिंघिया खोलामा लगेर दाहसंस्कारमा सहयोग गरेका थिए।
उच्च अदालत विराटनगरले प्रदेश सरकारका नाममा केही दिनअघि संक्रमितको शव दाहसंस्कार गर्न परिवारको माग अनुसार दिनुपर्ने आदेश गरेपछि यहाँका युवा अग्रसर भएका हुन्।
कोरोना संक्रमित बसेको घर वरपर छिमेकी नै नजाने समस्या देखिन थालेपछि नगरमा पहिलोपटक नेकपा विराटनगरको ८ नम्बर वडा कमिटीले अभियान चलाएको हो । कमिटीका अध्यक्ष राम पोखरेलका अनुसार, अशोक चोकमा एक युवा संक्रमित भएपछि स्थानीयले त्यस घर वरपरका सडकमा बाँस बाँधेर आवतजावत बन्द गरे।
“यस्ता समस्या नबढुन् भनेर हामीले समयमै कदम चालेका हौं” पोखरेलले भने, “पहिलो कुरा त समाजको सोच नै परिवर्तन गर्नुपर्ने आवश्यकता देखियो।”
कोरोना संक्रमितका घरमा गएर हौसला दिने र घर निर्मलीकरण गरिदिने कामलाई पोखरेलको समूहले तीब्रता दियो। पहिलो चरणमा १७, दोस्रोमा २१ र तेस्रो चरणमा हालसम्म १६ वटा संक्रमित बसेका घरमा पुगेर मास्क, स्यानिटाइजर, गुर्जोको पाउडर, बेसार, दालचिनी, अदुवा, पन्जा दिइएको उनले बताए।
उनका अनुसार, संक्रमित भएका व्यक्ति बिहानको घाम ताप्न छतमा चढेको देखेर छिमेकी इन्जिनीयर, प्रधानाध्यापक जस्ता शिक्षित मान्छेले पनि विरोध गरेको पाइएको छ।
उनीहरूलाई कोरोना परैबाट नसर्ने देखाउन पोखरेलको समूह संक्रमित भएको घरभित्रै पसेर परिवारलाई आत्मबल बढाउन हौसला दिने गरेको छ। संक्रमित व्यक्तिलाई परैबाट देखेर डराउने व्यक्तिहरुलाई पनि उनीहरुले सम्झाउने गरेका छन्।
समुदायमा संक्रमण फैलने क्रम बढेकाले नेकपा महानगर कमिटीले २५० जति घरमा गएर निर्मलीकरण गरेको अध्यक्ष सागर थापाले बताए। अब होम आइसोलेसनमा बसेका संक्रमितका लागि आयुर्वेदिक जडीबुटी लिएर घरघरमा जाने तयारी गरिएको जानकारी दिंदै उनले संक्रमण भएकै कारण समाजमा पुनर्स्थापित हुन नसक्ने अवस्थाका व्यक्तिको पहिचान गरी सहजीकरण गर्ने योजना बनाइएको बताए।
केही दिनअघि विराटनगर ३ दुर्गाचोक उत्तरमा एक स्वास्थ्यकर्मी शिक्षिकालाई कोरोना संक्रमण भएको सार्वजनिक भएपछि लायन्स क्लव अफ विराटनगर युनिकले टोल नै निर्मलीकरण गरिदियो।
पूर्व अध्यक्ष विनोद राउतले आफ्नो निजी खर्चमा ७० वटा आसपासका घरमा आफैं पीपीई लगाएर स्यानिटाइज गरेको बताए। “संक्रमितको घर मात्रै हैन समुदायमै कोरोना फैलिएकाले समाजका घरहरू नै सफा गर्नुपर्ने आवश्यकता देखियो” राउतले भने, “अब हरेक शनिबार हामी संक्रमित बस्ने आसपासका घर स्यानिटाइज गर्नेछौं।”