५० हजारबाट शुरू भएको सस्तोडिलको यसरी सम्भव भयो फ्लिपकार्ट यात्रा
भू-राजनीतिमा प्रभाव पारेका चीन र भारतका दुई ठूला ई–कमर्श कम्पनी नेपाली उपभोक्तालाई सरसामान बिक्री गर्ने प्रतिस्पर्धाको चरणमा प्रवेश गरेका छन्।
दुई वर्षअघि चिनियाँ बहुराष्ट्रिय समूह अलिबाबा अनलाइन प्लेटफर्म दराज मार्फत नेपाल आएपछि ई कमर्शका लागि नयाँ नेपाली बजारमा अन्तर्राष्ट्रिय ठूला खेलाडी प्रवेशको बाटो फराकिलो भएको थियो। चिनियाँ अर्बपति ज्याक माले दुई दशकअघि स्थापना गरेको अलिबाबा समूहले चीनमा उपभोक्ताको किनमेलको परम्परागत शैलीलाई नै बदलेको मानिन्छ। त्यसैले अलिबाबाको आगमन नेपाली बजारमा ई–कमर्शको सम्भावित विस्तारका लागि महत्वपूर्ण घटना थियो।
तर, अलिबाबाको नेपाल प्रवेश अनलाइन कारोबारमा पाइला चाल्दै गरेका स्थानीय प्लेटफर्महरुका लागि गहिरो झड्का थियो। सानो पूँजी र प्रविधिको क्षमताका उनीहरुका लागि ई–कमर्शमा अन्तर्राष्ट्रिय ख्याति कमाएको चिनियाँ कंग्लोमेरेटसँग प्रतिस्पर्धामा उत्रिन कम मुश्किल थिएन।
नौ वर्षअघि अमेरिकाबाट फर्किएका अमुन थापासहितको समूहले शुरु गरेको अनलाइन किनमेलको प्लेटफर्म सस्तोडिलले पनि सम्भावित चुनौतीको आकलन गरिसकेको थियो। तसर्थ थापाले प्रतिस्पर्धाको बजारमा टिक्दै बिस्तारै आफ्नो सञ्जाल विस्तारको रणनीति बनाउन शुरु गरे। त्यसैको कडीका रुपमा भारतीय बजारमा अमेरिकी कम्पनी अमेजनसँग प्रतिस्पर्धामा खरो उत्रिएको स्थानीय ई–कमर्श कम्पनी फ्लिपकार्टसँग साझेदारीको प्रस्ताव अगाडि सारे।
भू–राजनीतिमा बलियो प्रभाव छोड्ने दुई शक्ति राष्ट्र चीन र भारतका ई–कमर्शका विशाल कम्पनी घुमाउरो बाटोबाट नेपाली बजारमा भित्रिएका छन्। यसले नेपाली ई–कमर्शको बजारमा वास्तविक प्रतिस्पर्धा शुरु भएको देखाउँछ।
सन् २०१८ मा अमेरिकी बहुराष्ट्रिय कम्पनी वालमार्टले १६ अर्ब अमेरिकी डलरमा ८१ प्रतिशत शेयर खरीद गरेको भारतीय ई–कमर्शको प्लेटफर्म हो, फ्लिपकार्ट। करीब एक वर्ष लामो छलफल र प्रयत्न रणनीतिक साझेदारी गर्ने सहमतिमा पुगेर टुंगियो र भदौ पहिलो सातादेखि सस्तोडिल मार्फत नेपाली बजारमा फ्लिपकार्ट आएको छ।
भू–राजनीतिमा बलियो प्रभाव छोड्ने दुई शक्ति राष्ट्र चीन र भारतका ई–कमर्शका विशाल कम्पनी घुमाउरो बाटोबाट नेपाली बजारमा भित्रिएका छन्। यसले नेपाली ई–कमर्शको बजारमा वास्तविक प्रतिस्पर्धा शुरु भएको देखाउँछ। काठमाडौंमा दुई देशको कूटनीतिक सक्रियकताको प्रतिस्पर्धा पछिल्ला वर्षहरुमा छिपेको छैन। अब ती देशका व्यावसायिक कम्पनीहरु पनि स्थानीय ई–कमर्श बजारमा आफ्नो प्रभुत्व स्थापनाको प्रतिस्पर्धामा उत्रिएका छन्। तर, सानो बजारमा ठूला ई–कमर्श कम्पनीको प्रवेशले स्थानीय अनलाइन प्लेटफर्महरुलाई प्रतिस्पर्धामा टिक्न कठिन हुनसक्छ।
रु. ५० हजारबाट शुरुआत
नेपाली उपभोक्तालाई अनलाइन किनमेलको प्रथम झलक दुई दशकअघि नै ठमेल डटकम तथा मुन्चा डटकम जस्ता प्लेटफर्मले दिएका थिए। तर, तिनको मुख्य ध्यान विदेशमा बसेका नेपालीले नेपालमा रहेका परिवार तथा साथीभाइलाई दिने उपहार खरीददारीको प्रबन्धमा केन्द्रित थियो। बिस्तारै ती प्लेटफर्म ई–डिपार्टमेन्टल स्टोरमा रुपान्तरित हुँदै गए र बजारमा स्थानीय अरु किनमेलका अनलाइन पनि थपिंदै गए। यिनीहरुले उपभोक्तालाई अनलाइन सपिङको स्वाद चखाए पनि बानी पर्न भने सकेन।
अमुन थापाले आफूसँग भएको रु. ५० हजार लगानीबाट व्यवसाय थालेका थिए। काठमाडौं गैरीधारामा मासिक रु. २ हजारमा भाडामा लिइएको टिनको छाना रहेको ग्यारेजको एउटा कोठाबाट सस्तोडिलले कारोबार थालेको थियो।
अमेरिकाबाट मार्केटिङ पढेर सन् २०११ मा फर्किएका अमुन थापालाई पसल–कबल चहारेर किनमेल गर्दाको हैरानी भोगेपछि दिमागमा अनलाइन व्यापारको खाका बनेको थियो। तर, लगानीका लागि रकम थिएन। थापाले सफ्टवेयर इञ्जिनियर शोधन मानन्धर र वेबसाइट डिजाइनर श्रीजित राजभण्डारीलाई भेटेपछि उनले दुवैलाई आफ्नो योजनामा सामेल गराए र सस्तोडिल डटकमको शुरुआत भयो। उनले दुवैलाई रकम नदिने बरु कम्पनीको शेयर हिस्सा दिने प्रस्तावमा सहमत गराएका थिए।
थापाले आफूसँग भएको रु. ५० हजार लगानीबाट व्यवसाय थालेका थिए। काठमाडौं गैरीधारामा मासिक रु. २ हजारमा भाडामा लिइएको टिनको छाना रहेको ग्यारेजको एउटा कोठाबाट सस्तोडिलले कारोबार थालेको थियो।
वस्तु र सेवाको बिक्रेता खोज्दै हिंड्ने, अनलाइन मार्फत बिक्रीका लागि मनाउने, सामानको तस्वीर खिच्ने, अनलाइनमा अपलोड गर्ने, ग्राहकको अर्डर लिने र डेलिभरी गर्न जाने, सबै काम थापा र उनका साथीहरुले गर्थे। “व्यापारीलाई तपाईंको सामान अनलाइन मार्फत बेच्दिन्छु भन्दा नपत्याएर हाँस्थे”, सस्तोडिलका संस्थापक थापा सम्झन्छन्, “शुरुआतमा सामान बेच्न भन्दा पनि व्यापारी र उपभोक्ता दुवैलाई अनलाइन सपिङको आइडिया नै बुझाउन समय लाग्यो।”
पहिलो चरणमा फ्लिपकार्टले भारतमा उपलब्ध गराउँदै आएका पाँच हजार सामान सस्तोडिलको प्लेटफर्ममा उपलब्ध हुनेछ। बिस्तारै त्यो संख्या बढ्दै जाने थापाले बताए। बच्चाका सरसामानदेखि विद्युतीय सामग्री, किताब, फर्निचर आदि क्रमशः थप्दै १ लाख भन्दा बढी सामग्री उपलब्ध गराउने योजना छ।
डायलअप इन्टरनेटको जमानाबाट बिस्तारै द्रुत गतिको इन्टरनेटको पहुँच बढ्दै गएपछि अनलाइन कारोबारको बजार बढ्न थाल्यो। इन्टरनेटको पहुँच र अनलाइन पेमेन्ट सजिलै हुँदै गएपछि अन्य प्लेटफर्म जस्तै सस्तोडिलले पनि व्यवसाय फराकिलो बनाउँदै गयो। “इन्टरनेटको पहुँच विस्तार तथा अनलाइन पेमेन्टको सहजताले अरुलाई जस्तै हामीलाई पनि आत्मविश्वास दिएको हो”, थापा भन्छन्।
नेपालमा अनलाइन किनमेल बढे पनि प्लेटफर्महरुमा सरसामानको विविधता धेरै छैन। लत्ताकपडादेखि किताबसम्म सीमापारि भारतबाटै मगाउनेको संख्या ठूलो छ। भारतबाट कुर्ता–सारीदेखि सवारीसाधनका पार्टस्सम्म चोरी–पैठारी हुने गर्छ। यही अप्ठ्यारो देखेर भारतमा उपलब्ध हुने सरसामानलाई औपचारिक माध्यमबाट नेपाली उपभोक्ताको पहुँचमा ल्याउन फ्लिपकार्टसँग साझेदारी गरिएको थापा बताउँछन्। अलिबाबाले नेपाली उपभोक्तासामु अनेकौं चिनियाँ सामग्री फिंजाएसरह फ्लिपकार्ट मार्फत आफूहरुले पनि भारतीय सामग्री ल्याउने उनी बताउँछन्।
पहिलो चरणमा फ्लिपकार्टले भारतमा उपलब्ध गराउँदै आएका पाँच हजार सामान सस्तोडिलको प्लेटफर्ममा उपलब्ध हुनेछ। बिस्तारै त्यो संख्या बढ्दै जाने थापाले बताए। बच्चाका सरसामानदेखि विद्युतीय सामग्री, किताब, फर्निचर आदि क्रमशः थप्दै एक लाख भन्दा बढी सामग्री उपलब्ध गराउने योजना छ। फ्लिपकार्टले भारतमा एक करोडभन्दा बढी किसिमका सामान आफ्नो अनलाइन प्लेटफर्ममा उपलब्ध गराउँछ। फ्लिपकार्टसँगको साझेदारीपछि सामानको खरीददारीका लागि भारत जानुपर्ने बाध्यता हट्ने थापाको दाबी छ। “सबैभन्दा महत्वपूर्ण चाहिं भारतको उपभोक्ता मूल्यकै हाराहारीमा नेपालमा पनि सामान उपलब्ध गराउने प्रयास गर्छौं”, थापाले भने।
फ्लिपकार्टको प्लेटफर्ममा सामान उपलब्ध गराउने व्यवसायीले थोक मूल्यमा सामानको आपूर्ति गर्ने र त्यसमा भन्सारमा कर तथा ढुवानी शुल्क जोडेर मूल्य तय गरिने भएकाले उपभोक्ताले सस्तोमा सामान खरीदको अवसर पाउने थापाले बताए। त्यसो हुँदा, अहिले बजारमा दोब्बर–तेब्बर पर्ने भारतीय सरसामान सस्तोमा उपलब्ध हुनसक्छ।
ग्यारेजबाट शुरु भएको सस्तोडिलमा अहिले एक सय जनाको हाराहारीमा कर्मचारी छन् र वार्षिक रु. १ अर्बको कारोबार पुर्याउने लक्ष्य छ। गत असारमा सस्तोडिलमा अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी फण्ड डोल्मा इम्प्याक्ट फण्डले १ मिलियन डलर (करीब रु. १२ करोड) लगानी गर्ने सम्झौता गरेको छ।
फ्लिपकार्टबाट ल्याएर गोदाममा राखिएका सामान एक दिनभित्रै र उपलब्ध नभएका सामान उपभोक्ताले अर्डर गरेको एकाध दिनमै ल्याएर दिने थापाको दाबी छ। फ्लिपकार्टसँगै यसको सहायक प्लेटफर्म मिन्त्रको लत्ताकपडा पनि सस्तोडिलमा उपलब्ध हुनेछ। “र, यी सबै सामग्रीको गुणस्तर ग्यारेन्टी गर्नेछौं”, थापा भन्छन्, “वारेन्टी, मर्मत, साटासाट लगायत सुविधा पनि हामी नै दिन्छौं।” अहिले अनलाइन प्लेटफर्महरुमाथि उपभोक्ताको अविश्वास हुनुको मुख्य कारण यिनीहरुले उपलब्ध गराउने सामानको गुणस्तरप्रतिको आशंका हो।
ग्यारेजबाट शुरु भएको सस्तोडिलमा अहिले एक सय जनाको हाराहारीमा कर्मचारी छन् र वार्षिक रु. १ अर्बको कारोबार पुर्याउने लक्ष्य छ। गत असारमा सस्तोडिलमा अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी फण्ड डोल्मा इम्प्याक्ट फण्डले १ मिलियन डलर (करीब रु. १२ करोड) लगानी गर्ने सम्झौता गरेको छ। यसले सस्तोडिलको लक्ष्य हासिल गर्न अझ सहयोग गरेको थापा बताउँछन्।
काठमाडौंमा सीमित ई–कमर्शलाई उपत्यका बाहिर र ग्रामीण क्षेत्रसम्म पुर्याउने, स्थानीय पहिचान बोकेका उत्पादनलाई देशभरि पुर्याउनेसहितका योजनाका खाका थापासहितको टिमले बनाइरहेको छ। त्यस्तै, फ्लिपकार्टसँगको साझेदारी मार्फत नेपाली सामानलाई पनि भारतीय बजारमा पुर्याउने योजना पनि छ। हिमाली चिज, मह, पस्मिना, जडीबुटी लगायत खास पहिचान भएका सामग्रीलाई फ्लिपकार्टको प्लेटफर्म मार्फत बिक्री गर्ने उनको योजना छ। “अहिलेको समझदारी शुरुआत मात्रै हो, योजना लामो र ठूलै छ”, उनले भने।