कोरोनाभाइरस संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
चितवनको भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोनाभाइरस संक्रमणबाट आज मृत्यु भएको छ। अस्पतालको कोभिड–१९ क्लिनिकल टीमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको मृत्यु भएको हो।
उनलाई २ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि ६ भदौमा उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनको आज बिहान ७:२० बजे मृत्यु भएको पौडेलले बताए।
योसँगै कोरोनाभाइरस संक्रमणका कारण चितवनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ। चितवन जिल्लाका भने ६ जना छन्। तीमध्ये एक जनाको घरमै र अन्यको अस्पतालमा मृत्यु भएको थियो।
यस्तै, मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र नवलपरासी (सुस्ता पूर्व) का एक/एक जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ।