निषेधाज्ञाकै वेला सडकका गाई बेपत्ता हुन थालेः संरक्षणकर्मी
काठमाडौँका सडकमा छाडिएका गाई, बाच्छा र साँढे कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाकै वेला बेपत्ता हुन थालेको संरक्षण अभियानकर्मीहरुले बताएका छन्। ती जनावर मासुको लागि तस्करी हुन थालेको पनि उनीहरुको दाबी छ।
छाडा गाईबाच्छा संरक्षण अभियानकर्मी उत्तम पुडासैनीले आफूहरुले नदी किनार र एकान्तस्थलमा ठूलो परिणाममा विभिन्न अंग भेटाएको बताए। उनले भने, “तराईबाट राजधानीसम्म आउने राँगा र भैँसीको आपूर्ति ठप्प हुँदा पनि मासु खानेको तृष्णा ठप्प भएको हुँदैन, सडकमा छाडिएका ती अबोध प्राणीमाथि गिद्देदृष्टि परेका अनेकौँ उदाहरण हामीसँग छ।”
एकैदिनमा १८ वटा गाई, बाच्छाका मासुविनाका शरीर (भुँडी मात्र) को अन्तिम संस्कार गरेको संरक्षण अभियानले जनाएको छ। सडकमा अघिल्लो दिन देखिएका बाच्छा भोलिपल्ट बेपत्ता भएका र ती बाच्छाबाच्छीलाई फेरि कहिल्यै नदेखिनुको पछाडि पनि यस्तै कारण हुनसक्ने अभियानको ठहर छ। गाईमाथिको क्रुरता बन्द गर्न सरोकार भएका निकायको ध्यान जानुपर्ने छाडा गाईबाच्छा संरक्षण अभियानकर्मीको माग छ।
अभियानसँग ३०० असहाय गाई, बाच्छाको संरक्षण गर्नसक्ने भौतिक संरचना तयार भएकाले उद्धार गरी आश्रयस्थलसम्म ल्याइदिन अभियानले आह्वान गरेको छ। पशुपति क्षेत्र विकास कोषले कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारमा उपलब्ध गराएको जग्गामा यस्तो संरचना बनाइएको अभियानकर्मी पुडासैनीले बताए।
पछिल्ला दिनमा पाल्न लैजाने बहानामा सडक र नदी किनारमा भेटिने गौप्राणीलाई गाडीमा राखेर लैजाने गिरोह सक्रिय भएको छ। यस्तो दृश्य देखिएमा प्रतिरोध गर्न र सम्बन्धित निकायको कुनै आधिकारिक पत्रविना त्यस्ता प्राणीलाई लैजानबाट रोक्न सबै लागि पर्नुपर्ने अभियानले जोड दिएको छ।