कालीकोटको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १० पुग्यो
कालीकोटको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा आइतबार बिहान गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १० पुगेको छ।
पहिरोमा पुरिएर ज्यान गुमाउनेमा शुभकालिका गाउँपालिका–६ का एकै परिवारका ४० वर्षीय परेश शाही, उनकी ७ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिना को छोरा अक्कल शाही छन्। त्यस्तै संगै तिलागुफा नगरपालिका १ का ३५ वर्षीय मनविर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाई, २५ वर्षीय छोईनो दमाई र ६ वर्षीय गजेन्द्र दमाई रहेका छन्। साथै सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका २३ वर्षीय अमृत थापा र भेरीगंगा नगरपालिका १० की आईती खड्का रहेको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएका उनीहरूको साँझ ७ बजेसम्म उद्धारमा खटिएको प्रहरी टोलीले शव निकालेको छ। पहिरोमा पुरिएका कारण गम्भीर घाइते भएकी ३५ पर्षीया पुन्ना शाही र तिलागुफा नगरपालिका–३ का ११ वर्षीय अर्जुन हमालको उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भैरहेको छ।
कालिकोटका जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाका अनुसार पहिरोमा परी वेपत्ता भएका भएका ९ जनाको उद्धारमा खटिएको प्रहरी टोलीले पहिरो हटाएर शव निकालेको छ। एकजना बालकको शव भने बिहानै स्थानीयले निकालिसकेका थिए।