कोरोना अपडेट: काठमाडौंका यी ठाउँ हुन् संक्रमणका ‘हटस्पट’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४२९ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयले १४ भदौमा सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार ४२९ मध्ये काठमाडौंमा सबैभन्दा धेरै ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना कोरोना संक्रमित थपिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडि)का निर्देशक डा. वासुदेव पाण्डे काठमाडौंमा सबैभन्दा धेरै असन, कोटेश्वर, टेकु, न्यूरोड, कुलेश्वर, कीर्तीपुर र चन्द्रागिरिमा बढी कोरोना संक्रमित भेटिएका छन्। डा. पाण्डेले ती ठाउँहरूमा १४ भदौसम्ममा १०० भन्दा बढी कोरोना संक्रमित भेटिएको बताए।
उनका अनुसार यसबाहेक काठमाडौंका अन्य ठाउँहरूमा छिटफुट कोरोना संक्रमित भेटिएका छन्। इडिसिडिका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले काठमाडौंका बढी जनघनत्व र चहलपहल हुने ठाउँमा धेरै कोरोनाका संक्रमित भेटिएको बताए।
अधिकारीका अनुसार ठूला सरकारी तथा नीजि कार्यालय, ब्यांक र वित्तिय संस्था भएका ठाउँमा एकैपटक धेरै जनामा संक्रमण देखिएको छ। “नक्साल क्षेत्रमा बढी कोरोना संक्रमित देखिनुमा त्यहाँ प्रहरी कार्यालय भएको र कार्यालयका एकजना कर्मचारीबाट अन्य धेरै प्रहरीमा कोरोना सरेको देखिएको छ,” उनले भने।
उनका अनुसार उपचार गर्न जाने ठाउँ भएकाले पनि ठूला अस्पताल भएका काठमाडौंको महाराजगञ्ज लगायतका क्षेत्रमा एकैपटक धेरै संक्रमित भेटिएका छन्।
इडिसिडिमार्फत कट्याक्ट ट्रेसिङको काम गरिरहेका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पछिल्ला केही दिनहरूमा काठमाडौंमा भेटिएका कोरोना संक्रमित बाहिरका जिल्लाबाट आएको नदेखिएको बताए। काठमाडौं बाहिरका जिल्ला र भारतबाट आएकाहरूबाट उनीहरूमा कोरोना सरेको देखिएको छ।
“बाहिर भ्रमण नगरेका व्यक्तिमा कोरोना देखिनु भनेको काठमाडौंमा दोस्रो चरणको संक्रमण शुरु भयो भनेर बुझ्न सकिन्छ,” उनले भने।
काठमाडौं महानगरपालिकाका कोभिड फोकलपर्सन ज्ञानबहादुर ओलीले काटेश्वर क्षेत्रमा पर्ने वडा–३२ को एउटा टोलमा ३५ जनासम्म कोरोना भेटिएको बताए। महानगरपालिकाको १३ भदौसम्मको तथ्यांक अनुसार काठमाडौंको ३२ नम्बर वडामा कुल १८७ जना संक्रमित भएका छन्।
ओलीका अनुसार शुरुशुरुमा तराईका विभिन्न जिल्ला र भारतबाट आएकाहरूमा मात्र कोरोना संक्रमण देखिएकोमा अहिले कतै भ्रमण नगरेका समुदायका एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको देखिएको छ।