कोरोना असरः घरभाडा नै तिर्न नसकेर विस्थापित हुने अवस्थामा ठमेलका व्यवसायी
कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन्।
पर्यटनमा निर्भर रहेको ठमेल बन्दाबन्दी र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प छ। जसका कारण घरभाडा तिर्नसमेत समस्या भएकोले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरूले बताएका छन्।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले गत चैतयता व्यवसाय पूर्ण रुपमा बन्द भएपछि अहिले व्यवसायीहरूलाई घरभाडा तिर्न गाह्रो भएको बताए।
अन्य क्षेत्रमा भन्दा ठमेल क्षेत्रमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको उनले बताए। उनले ठमेल पर्यटन विकास परिषद्को पहलमा केही घरबेटीले घरभाडा छुट दिएपनि लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा समस्या आएको बताए।
ठमेलभित्र रहेका अधिकांश घरभेटीले ३० देखि ७० प्रतिशतसम्म घरभाडा छूट दिएपनि केही घरबेटीले घरभाडा समायोजन नगरिदिँदा त्यस्ता व्यवसायीहरू विस्थापित भइसकेको उनले बताए। उपत्यकामा फेरी निषेधाज्ञा जारी भएपछि भने अभैm लामो समय व्यापार व्यवसाय ठप्प हुने देखिएकोले घरभाडा छूट पाएका व्यवसायीहरू पनि भाडा तिर्न नसकेर विस्थापित हुनुपर्ने अवस्थामा पुगेको शर्माले बताए।
काठमाडौंमा अन्य क्षेत्रको तुलनामा ठमेलको घरभाडा महँगो छ। त्यसैपनि ठमेल क्षेत्र पूर्ण रुपमा पर्यटकमा निर्भर रहेको क्षेत्र हो। अहिले अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण पर्यटकहरू आउने अवस्था पनि छैन।
पर्यटक नआउँदासम्म ठमेलको व्यापार शून्य नै हुन्छ। नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्छन र ठमेलमा घुम्ने, सपिङ गर्ने, खाने, बस्ने गर्छन्।
सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरूले लगानी पनि बढाएका थिए। उपाध्यक्ष शर्माले घरजग्गा विक्री गरेर अथवा बैंक ऋण गरेर लगानी गरेका व्यवसायीहरू यतिवेला सबैभन्दा बढी समस्यामा रहेको बताए।
सरकारले पर्यटन व्यवसायीलाई पुनरकर्जा उपलब्ध गराउने भनेपनि त्यसको कार्यान्वयन छिट्टै नहुँदा व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगिसकेका छन्। त्यस्तै अझै एक वर्ष यस्तै अवस्था रहे ब्यांकबाट ऋण लिएर व्यापार गरेका व्यवसायीहरूलाई ऋण तिर्नसक्ने क्षमता पनि नरहने शर्माको भनाइ छ।
यस्तो समस्या आउन नदिन सरकारले बेलैमा व्यवसायीलाई सहज वातावरण निर्माण गरी दिनुपर्ने पनि उनले बताए।
ठमेल क्षेत्रमा सानाठूला गरेर १० हजार भन्दा बढी व्यवसायीहरू रहेका छन्। व्यवसायीहरूले भाडाबापत मासिक ३० करोड रुपैयाँ भन्दा बढी बुझाउने गरेको ठमेल पर्यटन विकास परिषद्को तथ्याङ्कले देखाउँछ।
ठमेलमा कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकलन, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल लगायतका व्यवसायहरु रहेका छन्।