नियमित उडानमा दोब्बरभन्दा बढी भाडा असुल्दै वायुसेवा कम्पनी
नियमित उडान खुला भएपनि दैनिक ५०० जनाको मात्रै कोटा तोकिएकोले एकतर्फी मात्रै यात्रु हुने र सञ्चलान खर्च धान्न नसक्दै भन्दै वायुसेवा कम्पनीले चार्टर्ड उडानको भन्दा बढी भाडा लिएर टिकट बिक्री गरिरेहका छन्।
सरकारले १७ भदौदेखि हुने नियमित उडानमा दोब्बर भन्दा बढी भाडा असुलेको गुनासो आएको छ। नियमित उडान खुला भएसँगै अधिक भाडा लिएर टिकट बिक्री गरेको गुनासो बढेकोले पर्यटन मन्त्रालयले आवश्यक अनुगमन गरेर सम्बन्धित वायुसेवालाई कारवाही गर्ने बताएको छ।
सरकारले सिमित कोटा तोकेर सर्तसहित नियमित उडान खुला गराउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीले बढी भाडा लिन थालेका छन्।
नियमित उडान भएपनि अन्य समयको तुलनामा दोब्बर भाडादर तय गरेर वायुसेवाले टिकट बेचिरहेको एस ट्राभलका प्रवन्ध निर्देशक मधुसुदन उपाध्यायले बताए। "सिमित गन्तव्यको उडान खुलेको अवस्थामा सामान्य समयको तुलनामा दोब्बर भाडा तय गरेर टिकट खुला भएको छ। यस्तो टिकटमा पनि ग्रुप बुकिङ देखाउने र सबै ट्राभल एजेन्सीले टिकट काट्न नपाउने समस्या देखिन्छ," उपाध्यायले भने, "चार्टर्ड उडानमा रु.४० देखि ४५ हजारमा आउन पाइने दुबईबाट आउँदा रु.७० हजारसम्को टिकट विक्री भइरहेको छ।"
टर्कीस र कतार एयरको उडानमा भने सस्तो टिकट नै नदेखाएको र त्यसमा पनि सिमित एजेन्सीलाई मात्रै टिकट जारी गर्ने सुविधा दिइएको गुनासो उपाध्यायको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार चार्टर्डमा जस्तो उडान सुनिश्चित हुने र यात्रुको ८५ प्रतिशत अकुपेन्सीको सुनिश्चितता नियमित उडानमा हुँदैन। लामिछाने एकतर्फी यात्रु हुने तथा सरकारले नै सिमित कोटा तोकेको कारणले सञ्चालन खर्च उडान सस्तो खालको टिकट विक्री नगरेको हुनसक्ने बताउँछन्।
"अब खुल्ने नियमित उडानको प्रक्रिया र उडान सञ्चालन झन्झटिलो र खर्चिलो पनि हुन सक्छ," उनले भने। जोखिम बढी भएकोले र आवश्यक प्रक्रिया पुर्याउँदैमा चार्टर्डको तुलनामा महंगो हवाई भाडा पर्न गएको गुनासो आइरहेको छ। मजदुरलाई नियमित उडान खुल्दा पनि चार्टर्ड भन्दा महंगो पर्न नहुने भएपनि कतार र टर्किस एयरलाई जम्मा १०० जना मात्रै ल्याउन पाउने सीमा तोकेकोले महंगो परेको हुनसक्ने बुझाई लामिछानेको छ।
पर्यटन मन्त्राययले भने आइतबार नै १६ भादौपछि हुने नियमिति उडानमा वायुसेवा कम्पनीहरूले कोभिड-१९ को महामारीपूर्व नियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिन सबै बायुसेवा कम्पनीलाई आग्रह गरेको छ। नेपालबाट हुने १७ भदौदेखिको नियमित उडानमा हवाई भाडा बढी लिएको गुनासो बढेकोले मन्त्रालयले सम्बन्धित वायुसेवासँग यस्तो आग्रह गरेको पर्यटन मन्त्रालयले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
अनुगमन गर्न समिति गठन
भाडादर महंगो लिएको गुनासो आएको वायुसेवालाई नेपाल नागरिक उड्ड्यन प्राधिकरण मार्फत सचेत गराउने निर्णय पनि भएको छ।
त्यस्तै नेपालीहरू स्वदेश फिर्ता लगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ। समितिको सदस्यहरूमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन।
समितिलाई हवाई उडान भाडादर यात्रुहरूको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, होटल संघ नेपाल लगायतका संघ संस्थाहरूसँग आवश्यक समन्वय गर्ने र स्वदेश फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ।
यस्तै ९ भदौदेखि खुलेको चार्टर्ड उडानमा संयुक्त अरब इमिरेट्स (युएई)को एयर अरेवियाले सरकारले तोकेको मापदण्ड पालना गरेर यात्रु नल्याएको र तोकिएको मापदण्ड विपरित पीसीआर रिपोर्ट नभएका यात्रुलाई रिपोर्ट भएकासँग मिसाएर ल्याएको विषयमा पनि छानविन गरिरहेको छ।
तीन देशसँग हवार्ई सेवा सम्झौता गरिने
सरकारले थप तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया,फिनल्याण्ड र रसियासँग हवाई सम्झौता गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको छ।
यस्तै हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय पनि मन्त्रालयले गरेको छ।