कांग्रेस महाधिवेशनः पदाधिकारीमा दाबी गर्दै नेतृहरु
कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीका आकांक्षी महिलाहरुले कोरोना संक्रमण जोखिमका बीच व्यक्तिगत रूपमा तयारी गरेर एउटै पदमा लड्दा केन्द्रीय कार्यसमितिमा धेरै महिला आउने बाटो बन्द हुने चिन्ता छ।
आगामी फागुनको पहिलो साता नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने तय गरिएसँगै नेताहरूको सक्रियता र सभापति पदका लागि दाबी शुरु भइसकेको छ। महिला नेताहरूले पनि पदाधिकारीमा उठ्ने तयारी थालेका छन्।
केन्द्रीय सदस्य सुजाता कोइराला, सांसद मीना पाण्डे, प्रतिनिधिसभामा सचेतक रहेकी पुष्पा भुसाल, सांसदहरू उमा रेग्मी, डा. डिला संग्रौला, केन्द्रीय सदस्य कमला पन्त, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने लगायत पदाधिकारीमा जाने नेताका रुपमा हेरिन्छन्। यद्यपि महाधिवेशनका लागि समय बाँकी नै रहेकाले अधिकांशले पदाधिकारीमा उठ्ने/नउठ्ने वा कुन पदमा उठ्ने भन्ने निर्क्योल नभएको बताएका छन्।
सांसद एवं केन्द्रीय सदस्य संग्रौला भने आफू पदाधिकारीमै जाने गरी तयारी थालेको बताउँछिन्। महिला संघको पूर्व अध्यक्ष रहेकी उनले देशभरि पार्टीको विभिन्न संरचनामा छलफल गरिरहेको बताइन्। “जिल्ला तथा विभिन्न सञ्जालसँग छलफल गरिरहेकी छु, तर सभापतिका लागि नेताहरुबीच चर्चा भए पनि अरु को कुन पदमा भन्ने छलफल नभएकाले मैले पनि नेतृत्वसँग कुरा गर्न पाएको छैन”, उनले भनिन्।
सांसद एवम् महिला संघकी अध्यक्ष उमा रेग्मी पनि पदाधिकारीको आकांक्षी छिन्। तर, कुन पदमा उठ्ने भन्ने अहिले निर्क्योल गरिनसकेको बताउँछिन्। उनले भनिन्, “उठ्दा पदाधिकारीमै उठ्ने हो, तर महाधिवेशनको समय आएपछि बोल्नु नै उचित हुन्छ।” यस विषयमा महिला नेताहरुबीच र पार्टी नेतृत्वसँग छलफल गर्नुपर्ने भए पनि कोरोना संक्रमण जोखिमको कारण कठिन भएको उनको भनाइ छ।
पदाधिकारीका लागि आकांक्षी, सचेतक भुसाल पनि अहिले नै उम्मेदवारी घोषणा गर्नु हतार हुने बताउँछिन्। “चाहना त सबैको हुन्छ, तर हामी महिला नेताहरूबीच सामूहिक छलफल हुनुपर्छ”, उनले भनिन्, “पदाधिकारीका लागि तयारी गर्नु एउटा पाटो हो, अर्को चाहिं समावेशीको दलित, मधेसी, जनजाति लगायत क्लस्टरमा जान मिल्ने महिलाहरु जानुपर्छ र समग्रमा नेतृत्वमा धेरै महिला पुग्नेतर्फ पनि हामीले ध्यान दिनुपर्छ।” उपसभापति र महामन्त्री पद पनि खुला भएकाले ती पदका लागि पनि महिलाहरु अग्रसर हुनुपर्ने उनी बताउँछिन्।
पूर्वमन्त्री समेत रहेकी नेता कमला पन्त भने समय अझै धेरै बाँकी भएकाले अहिले नै भन्नु उपयुक्त नभएको बताउँछिन्।
कांग्रेसको विधान अनुसार टोलदेखि केन्द्रसम्म ८ वटा संरचना छन्। तीमध्ये टोल समिति बाहेक बाँकी ७ वटै संरचनामा कम्तीमा एक तिहाइ महिला हुनुपर्ने विधानले व्यवस्था गरेको छ। कांग्रेसको हरेक संरचनाको नेतृत्वमा महिला आउने र अन्य समावेशी कोटामा पनि सम्बन्धित जाति/समुदायका महिला आउँदा र खुला पदमा पनि महिला आउन मिल्ने भएकाले सबै संरचनामा लगभग एकतिहाइ भन्दा बढी नै महिला हुने केन्द्रीय स्तरका महिला नेताहरुको अपेक्षा छ। तर पदाधिकारी भने कम हुनेछन्।
प्रदेश र केन्द्रमा एक–एक जना सहमहामन्त्री बाहेक कुनै पनि पदमा आरक्षण छैन। तल्लो तहका आठ वटै पार्टी संरचनाको नेतृत्वमध्ये प्रमुख वा उपप्रमुख महिला हुनुपर्ने आवाज पनि पार्टीमा महिला नेताहरुले उठाइरहेका छन्। पार्टीको महिला विभागकी प्रमुख ईश्वरी न्यौपाने स्थानीय तहको अभ्यास जस्तै प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुने प्रावधान बनाउने र उपप्रमुखमै महिला आए पनि अर्को पटक प्रमुखको लागि त उनीहरु तयार हुने बताउँछिन्।
उनी भन्छिन्, “आफू आकांक्षी मात्रै बन्नु भन्दा पनि केन्द्रीय पदाधिकारीमध्ये दुई उपसभापति र दुई महामन्त्रीमध्ये एक–एकजना महिला हुनुपर्ने लडाइँमै छौं। महाधिवेशनकै वेला विधान संशोधन गर्नुपर्छ भनेर हामी पार्टीभित्र लागिरहेका छौं।” उनले आफू दुई पटक केन्द्रीय सदस्य र अहिले विभागीय प्रमुख भएकाले पदाधिकारीको लागि उपयुक्त पात्र भएको दाबी गर्दै छलफलबाट टुङ्गोमा पुग्ने बताइन्।
कांग्रेसमा अहिलेको केन्द्रीय पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक गरी ८ जना सहमहामन्त्री र एक कोषाध्यक्ष हुन्छन्। कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिले मनोनीत गर्ने प्रावधान छ।
आरक्षणको सहमहामन्त्रीमा खुम्चिने संशय
पदाधिकारीमा महिलाको लागि सुनिश्चित पद हो, समावेशीका आठ क्लस्टरमध्ये महिला क्लस्टर। त्यसैले अधिकांशले यही कोटामा उठ्ने मनस्थिति बनाएका छन्। यद्यपि आकांक्षी भनिएका र पदाधिकारीमा उठ्न योग्यता पुगेको मानिने महिला नेताहरुबीच नै यसबारे छलफल नहुँदा कतिपय अन्योलमा देखिन्छन् भने केहीले खुलेरै पदाधिकारीमा उठ्ने बताउन थालेका छन्।
पार्टी सभापतिमा विभिन्न नेताहरुले सञ्चारमाध्यम मार्फत उम्मेदवारको दाबी गरिरहेकाले सभापतिको टुंगो लागेपछि मात्रै महिलाहरु आन्तरिक छलफल गरेर उम्मेदवारी घोषणा गर्ने मानसिकतामा छन्। महिला विभाग प्रमुख न्यौपाने सबैले व्यक्तिगत रूपमा तयारी गर्दा समावेशी एउटै कोटामा मात्रै सबै महिला भिडे केन्द्रमा आउनुपर्ने महिला समेत बाहिरिने संभावना भएकाले पहिले महिलाहरुबीच छलफल गर्ने बताउँछिन्। “छलफलको पहल महिला विभागको प्रमुखको हिसाबले मैले पनि गर्छु, तर कोरोना संक्रमणका कारण तत्कालै छलफलको सम्भावना छैन”, उनी भन्छिन्।
पार्टी सभापतिमा विभिन्न नेताहरुले सञ्चारमाध्यम मार्फत उम्मेदवारको दाबी गरिरहेकाले सभापतिको टुंगो लागेपछि मात्रै महिलाहरु आन्तरिक छलफल गरेर उम्मेदवारी घोषणा गर्ने मानसिकतामा छन्।
कांग्रेसका एक शीर्ष नेता पनि पदाधिकारीमा सबै महिला नेताले एउटै पदमा उठ्ने भन्दा पनि आपसमा छलफल गरेर आउनु उचित हुने धारणा राख्छन्। उनी भन्छन्, “पदाधिकारीमा उठ्ने भनेर महिला कोटाको सहमहामन्त्री पदमा सबै जना भिड्दा एकजना बाहेक त सबै हार्ने हो। त्यसैले उपसभापति, महामन्त्री पदमा पनि उठ्दा हुन्छ, वा एक जना कोटामा गएर अरु केन्द्रीय कार्यसमितिमा आउने रणनीति बनाउनु उचित हुन्छ।”
महिला संघकी महासचिव धनकुमारी खतिवडा पनि पहिला महिलाहरुले मात्र आन्तरिक छलफल गरेर कोही आरक्षण र कोही खुलामा जानु उचित हुने बताउँछिन्। यो छलफलमा महिला विभाग, महिला संघ तथा स्वयं आकांक्षी महिलाहरु पनि एक ठाउँमा बस्नु जरुरी रहेको उनको सुझाव छ।
राष्ट्रिय सभा सदस्यको दुईवर्षे पदावधि पूरा गरेर गत फागुनमा बाहिरिएकी उनी पदाधिकारीमा उठ्ने विषयमा भने अहिलेसम्म नसोचेको तर सरसल्लाहबाट हुने हो भने आफू उपयुक्त पात्र भएको बताउँछिन्। “एक त पार्टीको सबैभन्दा जेठो भ्रातृ संगठन महिला संगठनको महासचिव, अर्को राजनीतिमै जीवन दिएको मान्छे हुँ”, उनी भन्छिन्, “यदि पार्टीले सोधेमा राम्रोसँग त्यो पद चलाउन सक्नेमा विश्वस्त छु, तर म उठ्ने भनेर अहिल्यै भन्दिनँ।”
“पदाधिकारीमा उठ्ने भनेर महिला कोटाको सहमहामन्त्री पदमा सबै जना भिड्दा एकजना बाहेक त सबै हार्ने हो। त्यसैले उपसभापति, महामन्त्री पदमा पनि उठ्दा हुन्छ, वा एक जना कोटामा गएर अरु केन्द्रीय कार्यसमितिमा आउने रणनीति बनाउनु उचित हुन्छ।”
कांग्रेसकी पुरानोमध्येकी नेता मीना पाण्डे केही महीना अघिदेखि स्वास्थ्य समस्याका कारण आराम गरिरहेकी छिन् भने सुजाता कोइराला पनि स्वास्थ्यकै कारण पदाधिकारीमा नउठ्ने मनस्थिति बनाएको एक नेताले बताइन्। कोइरालाले भने आफू यस विषयमा अहिले नबोल्ने बताइन्।
विधान अनुसार एक तिहाइ महिलाको सुनिश्चित भए पनि खुला र अन्य समावेशी कोटामा पनि महिलाहरुलाई बढीभन्दा बढी जिताएर केन्द्रमा पुर्याउने रणनीतिमा पनि केही अग्रज महिला नेताहरु लागेका छन्। महिला संघले आफ्नो कुल जिल्ला अध्यक्षमध्ये ८० प्रतिशत पार्टीको केन्द्रमा आउनुपर्ने गरी पार्टीलाई सुझाव दिने र समावेशी समूहको पनि सबै क्लस्टरमा लड्ने महिलाहरुको सूची नै बनाउने तयारी गरेको जनाएको छ।